एमालेमा उत्साह, माओवादीमा चिन्ता
२५ फागुन, पोखरा । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पोखरामा ओली समूहका विद्यार्थीले दीपावली नै गरे । एमाले ब्यूँतिएको र सूर्य चिह्न पाएकोमा उनीहरुले खुसी मानेका हुन् ।
५ पुसमा संसद विघटनसँगै ओली र प्रचण्ड-माधव समूहमा विभाजित नेकपामा सूर्य चिह्न र पार्टीको आधिकारिकता कसले पाउँछ भन्ने चासो थियो । तर नेकपाको नाम विवादमा सर्वोच्चले एमाले ब्यूँताइदिएपछि ओली समूह बलियो रहेको गण्डकी प्रदेशमा धेरै नेता कार्यकर्ता खुसी देखिए ।
‘किचकिच गरेर बस्नुभन्दा पूर्व एमाले नै ठीक छ भनेर धेरै कार्यकर्तामा उत्साह देखियो,’ ओली समूहका प्रदेश सभा सांसद कृष्ण थापाले भने, ‘सोमबारको निर्णयले पार्टी कार्यकर्तामा झन् उत्साह भर्नेछ, एकतालाई बल दिनेछ ।’गण्डकी प्रदेशका मन्त्री र सांसद पनि खुसी देखिए । पूर्ववत अवस्थामा फर्किँदा कार्यकर्तामा ऊर्जा बढेको र सरकार पनि यथावतै रहने अर्थमन्त्री किरण गुरुङको दाबी छ ।
