नेकपा एमाले : सजिलो छैन पुनर्मिलन
२७ फागुन, काठमाडौं । शोक प्रस्ताव पारित गर्दै सकिएको बुधवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले छुट्टै अस्तित्वसहित उपस्थित भयो । दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै फर्किए पनि बाँकी नेताहरू २ जेठ २०७५ अगाडिको एमालेकै हैसियतमा बसे ।
उपस्थित एमाले सांसदमध्ये झलनाथ खनाल ओलीपछिको वरिष्ठ नेताको हैसियतमा थिए । यसपछि माधवकुमार नेपाल र बाँकी नेताहरू एमाले पार्टी संरचनामा वरिष्ठताका आधारमा बसे । अर्थात्, एमाले पुनर्मिलनको पहिलो भौतिक दृष्य प्रतिनिधिसभामा देखियो ।
बैठकबाट बाहिरिएपछि खनालले पुनर्मिलनको भाषामै बोले– अब एमाले सरकार जोगाउन लागि पर्छौं । जबकी केही दिन अघिसम्म खनाल, नेपालसहित नेताहरू ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सघन छलफल र योजनामा थिए ।
५ पुसमा प्रतिनिधिसभा विघटन गरिएपछि खनाल र नेपालसहितको समूह ओलीसँग व्यवहारिक र राजनैतिक रूपमा अलग भएकाले एकअर्का विरुद्ध थुप्रै गतिविधि गरेका छन्, तिक्ततापूर्ण अभिव्यक्ति दिएका छन् । नेपाल त ओली इतर पार्टीको अध्यक्ष नै बनेका थिए ।
तर, जब सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रिया नै भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गर्यो, तब राजनीतिक ‘कोर्स’ नै उल्टिएको छ । खनाल र नेपाल समूहसँग मिलेर छुट्टै पार्टी संरचना निर्माण गरेको माओवादी केन्द्र पनि प्रतिनिधिसभामा फरक अस्तित्वमा आइसक्यो ।
