चितवनका किसानले एनसीसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने
चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित)अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो ।सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश राज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्न मणि न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकले जिल्लाभरका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न संघ अन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्ति/किसान र संस्थाहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
