सत्ता समीकरण: तीन दलबीचको वार्ता अनिश्चित
काठमाडौं । सत्ता समीकरणका लागि तीन दलबीच हुने भनिएको वार्ता अनिश्चित भएको छ । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा झण्डै तीन बर्ष अघिको अवस्थामा फर्केपछि सुरु भएको नयाँ सत्ता समीकरणको प्रयास र नेताहरुको दौडधूप भने जारी नै रहेको छ ।
परिवर्तित राजनीतिक अवस्थासँगै केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता गर्न तयार भएको नेकपा माओवादी केन्द्र नयाँ सत्ता समीकरणका लागि दलहरुबीचको सहकार्य सुनिश्चिततालाई पर्खेर बसेको छ ।
सर्वोच्च अदालतले नेकपा विवादमा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेज गरेपछि एमाले र माओवादी पुर्ववत अवस्थामा फर्केपछि माओवादी केन्द्रसहित नेपाली काँग्रेस र जसपाले नयाँ सत्ता समीकरण बनाउने प्रयास जारी राखेका छन् । त्यसका लागि यी तीनवटै पार्टीबीच फागुन २३ यता विभिन्न पटक छुट्टाछुट्टै वार्ता गरिरहेका छन् । उता केपी ओलीले पनि जसपालाई आफ्नो पक्षमा पार्न दुई चरण वार्ता गरिसकेका छन् । जसपमा एक पक्ष ओलीलाई साथ दिनुपर्ने मनस्थितिमा छ भने अर्को पक्ष त्यसको विपक्षमा उभिएको छ । महन्त ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक हुन चाहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ओलीसँग सहकार्य कुनै हालतमा गर्नुनहुने बताइरहेका छन् ।
