बिलेट र स्पोन्ज आइरनको भन्सार दर फरक बनाउन उद्योगीको आग्रह


३ चैत, काठमाडौं । नेपाल स्टिल बिलेट उत्पादक संघले बिलेटको कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार दरमा भिन्नता कायम गर्न सरकारसँग माग गरेको छ । नेपालले वाषिर्क ७० अर्बभन्दा बढीको तयारी बिलेट आयात गर्ने गरेको भन्दै संघले तयारी बिलेट र यसको कच्चा पदार्थ स्पोन्ज आइरनको भन्सार दरमा भिन्नता कायम गरे स्वदेशमै बिलेट उत्पादन गर्ने वातावरण सिर्जना हुने र व्यापार घाटा कम गर्न सकिने संघको दाबी छ ।



स्वदेशमै बिलेट उत्पादन गर्ने उद्योगहरु बढाउन र भएका उद्योगको सुरक्षाका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा भिन्नता कायम गर्न सरकारको ध्यानाकर्षण गराएको संघका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले बताए ।




अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, मन्त्रालय, राजस्व परामर्श विकास समिति, भन्सार विभाग तथा मातहतका अधिकारीलाई भन्सार दर परिमार्जन सम्बन्धमा जानकारी गराएका छौं,’ अध्यक्ष न्यौपानेले अनलाइनखबरसँग भने । तयारी बिलेट र कच्चा पदार्थ आयात गर्दा मुलुकलाई हुने फाइदाबारे आफूहरुले सरकारी निकायमा प्रस्तुति नै गरेको उनको भनाइ छ ।

समान भन्सारदरका कारण कच्चा पदार्थ ल्याएर यहाँ उद्योग चलाउन नसकिने भएकाले तयारी वस्तु र कच्चा पदार्थमा लाग्ने महसुल दर परिमार्जन गर्न आग्रह गरिएको न्यौपानेले बताए ।

तयारी बिलेट आयात गर्दा मुलुकबाट वाषिर्क ७० अर्बभन्दा धेरै रकम बाहिरिने गरेको भन्दै न्यौपानेले भने कच्चा पदार्थ ल्याउन सहजीकरण गरे बिलेटमा बाहिरिने रकम ५० प्रतिशतले घट्नेछ ।‘हामीले सरकारलाई भन्सार महसुल छुट गर भनेका छैनौं, कच्चा पदार्थलाई १० प्रतिशत महसुल लगाउने हो भने तयारीलाई बिलेटलाई १५ वा २० गराएमा स्वदेशमा बिलेट उत्पादन गर्ने उद्योग खोल्ने वातावरण बन्छ भनेका हौं,’ न्यौपाले भने ।



सम्बन्धित
Loading...