गण्डकी प्रदेशको सदस्य सचिवमा गुरुङ नियुक्त
पोखरा-गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्षसमेत रहेका गुरुङलाई गण्डकी प्रदेश सरकारले आगामी ४ वर्षीय कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।
आइतबार बसेको क्याबिनेट बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले यही फागुन २६ गतेसम्मका लागि एक साताको समय सीमा राखेर प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तोकिएको योग्यता पुगेका इच्छुक उमेदवारको निवेदन दिन आह्वान गरेकोमा गुरुङ र पूर्व भलिबल खेलाडी नवराज अधिकारी गरी दुई जनाको मात्र आवेदन परेको थियो ।
सदस्य सचिव छनौटका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा तिन सदस्य समिति गठन गरेको थियो । समितिको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुवर र खेल विज्ञ दिलबहादुर गुरुङ थिए । समितिले सदस्य सचिवका लागि गत फागुन २६ गते नै प्रदेश सरकार समक्ष सिफारिस गरेको समितिका सदस्य गुरुङले जनाए ।
ह्याण्डवल खेलका पूर्वराष्ट्रिय टिमका कप्तान, प्रशिक्षकसमेत रहेका गुरुङले ७ बुँदे आफ्नो कार्ययोजनासहित आवेदन दिएका थिए । २०१९ असोज २५ गते पोखरा–१६ स्थित अर्मलाडाँडामा जन्मेका गुरुङ २०४० सालमा पोखरामा भएको बृहत् खेलकुदमा ह्याण्डबलमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । हाल पोखरा–१ भीमकालीपाटन बस्दै आएका गुरुङ मित्र राष्ट्र जोड्नमा सन् १९८८ मा भएको चौथो एसियन च्याम्पियनसिप सहभागी भएका थिए भने ४ वर्षसम्म नेपाली ह्याण्डबलको कप्तान सम्हालेका थिए । २६ वटा राष्ट्र भ्रमण गरेका गुरुङले राखेपबाट ९ वर्ष प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। अगें्रजी र राजनीतिक शास्त्रमा त्रिभुवन विश्व बिद्यालयबाट स्नातक तह (बीए) उत्तीर्ण गरेका गुरुङले सन् १९८५÷०८६ मा डिप्लोमा कोर्षमा स्वर्ण पदक हात पार्ने पहिलो नेपाली हुन् ।
उत्कृष्ट खेलाडी उत्पादनमा जोड जसमा ७ वटा कार्यक्रमहरू पेश गरेका गुरुङले सबैका लागि खेलकुदमा ६ वटा कार्यक्रम समेटेका छन् । त्यसैगरी शिक्षा र खेलकुदमा ५ कार्यक्रम, श्रोत परिचालन जसमा ६ कार्यक्रम, सुशासन, क्षमता अभिवृद्धि र पूर्वाधार निर्माण जस्ता कार्यक्रमहरू आफ्नो कार्ययोजनामा पेश गरेको पूर्व राष्ट्रिय खेलाडी गुरुङले जनाए ।गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वक्षेत्रीय स्तरका भलिवल खेलाडी अधिकारीले ३० बुँदे आफ्नो भावी कार्ययोजना समेत मन्त्रालयमा सदस्य सचिव पदका लागि आवेदन दिएका थिए ।
संघीय मोडलअनुसार पहिलो पटक प्रदेश खेलकुद परिषद्को स्थापना हुन लागेको हो जसको सदस्य सचिव आवेदन परेका मध्य प्रदेश सरकारले उचित व्यत्तिको नियुत्ति गरेसँगै अन्य सदस्य पुनः नियुक्त हुने भएको छ । गुरुङ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पूर्वकोषाध्यक्ष, पोखरा रंगशाला पर्खाल निर्माण समितिको सचिवलगायतका धेरै संघ–संस्थामा आबद्ध भएका छन् ।
