बेरोजगारलाई रोजगारी दिने सरकारी योजना माग्दै संसदमा जरुरी महत्वको प्रस्ताव


३ चैत, काठमाडौं । बेरोजगारलाई रोजगारी दिने सरकारी योजना माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रहेको उक्त प्रस्तावमा नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई रोजगारी दिलाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको छ ।



कांग्रेसकै सांसद देवप्रसाद तिमल्सिना र रंगमती शाही समर्थक रहेको प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता भएको छ । विश्वव्यापी कोरोना महामारीका कारण हजारौं नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएको तर उनीहरुको पुनर्स्थापना तथा रोजगारीका लागि सरकारले कुनै पहल नगरेको उनीहरुले प्रस्तावमा लेखेका छन् ।




‘रोजगारी गुमाएर स्वदेश फर्केका नेपाली दाजुभाइ दिदीबहिनीहरुको लागि प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजार समेत सुनिश्चित गर्न एउटा स्पष्ट मार्गचित्र बनाउन सरकारलाई झकझक्याउन संसदले पहल गर्न अत्यावश्यक भएकाले यो प्रस्ताव ल्याइएको हो’ प्रस्तावमा उल्लेख छ ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्ने भनेको उल्लेख गर्दै उनीहरुले ती केन्द्रले कसरी काम गर्ने हुन् भन्ने स्पष्ट नभएको बताएका छन् ।
उनीहरुले कोभिड– १९ का कारण वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए, कति स्वदेश फर्किए त्यसको विस्तृत तथ्याङ्क सरकारसंग माग गरेका छन् ।



सम्बन्धित
Loading...