चितवनका वनमा डढेलोको जोखिम : राजमार्ग र बस्तीसँग जोडिएका वनमा बर्सेनि आगलागी
भरतपुर । चितवन जिल्लामा रहेका सामुदायिक तथा कबुलियती वनहरुमा डढेलोको जोखिम बढी छ । विशेषगरी चैत–वैशाख र जेठ महिनामा चितवनका वनमा डढेलो बढी लाग्ने गरेको छ ।
डिभिजन वन कार्यालय चितवनका अनुसार राजमार्ग र बस्तीसँग जोडिएका सामुदायिक वनहरुमा डढेलोको जोखिम बढी छ । डिभिजन वन कार्यालयका प्रमुख पदमराज नेपालका अनुसार यहाँका सामुदायिक वनहरुमा सालको रुख बढी छ, सुकेका पातहरु प्रशस्त झर्छ, वनसँगै बस्तीहरु जोडिएका छन् जसका कारण आगलागी तथा ठूला डढेलोको जोखिम बढी हुन्छ ।
उनले आगलागीका घटना हुन नदिन डिभिजन वन कार्यालयले सचेतना अपनाउनेदेखि आगलागी भएमा त्यसलाई नियन्त्रणमा लिन तालिमसमेत उपलब्ध गराइरहेको बताए । उनले भने, ‘आगलागीको घटना हुन नदिन सबैभन्दा ठूलो सचेतना हो, सामूहिक प्रयासकै कारण आगलागीको घटना हुनबाट बच्न सकिन्छ ।’
चितवनका सामुदायिक वनमा बर्सेनि १५ देखि २० वटा आगलागीको घटना हुने गरेका छन् । आगलागी भएका वनहरु बस्ती जोडिएका र राजमार्ग जोडिएका छन् । ‘आगलागी हुनबाट जोगिन अग्निरेखाहरु बनाइएको छ, हेरालुहरुलाई सजग गराइएको छ, डढेलो नियन्त्रणमा खटिने कर्मचारीदेखि औजारहरुलाई तयारी अवस्थामा राखिएको छ । तालिमप्राप्त सुरक्षाकर्मीहरु पनि तैनाथ छन्’, डिभिजन वन कार्यालयका प्रमुख पदमराजले भने ।
विगत वर्षहरुमा चितवनका विभिन्न वनमा आगलागीबाट मानवीय क्षति नभए पनि करोडौँको आर्थिक क्षति बेहोर्नु परेको छ । बर्सेनि लागेको डढेलोका कारण चितवनका सामुदायिक वनमा ४०० हेक्टरसम्म क्षति पुगेको छ ।
चितवनको वन क्षेत्रमा काम गरेर लामो अनुभव सँगालेका कृष्णप्रसाद पौडेलले बस्तीसँग जोडिएका भरतपुरको नवजागृति सामुदायिक वन, राजमार्गसँग जोडिएका सतनचुली सामुदायिक वन, रामवेल सामुदायिक वन, कालिका नगरपालिकाको कालिका सामुदायिक वन, राप्ती नगरपालिकाको परेवाश्वरी, सुरदेवी सामुदायिक वनमा आगलागीको बढी जोखिम रहेको बताए ।
उनले भने, ‘राजमार्गमा हिँड्ने यात्रुहरुले चुरोट खाएर ठुटा फाल्दा आगलागी भएका छन्, बँदेलको बच्चा छोप्दा, गुँडमा आगो लगाउँदा, काठ तस्करले काठ चोर्ने क्रममा वनमा आगो लगाउँदा, खोरिया फाँड्दा यहाँका वनमा डढेलो लागेको पाइन्छ ।’
