चैत ९ गते देखिगैँडा गणना थालिने, चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ गरिने


चितवन । चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ ।
गैँडाको यकिन तथ्यांक थाहा पाउन चैत ९ गतेदेखि गणना शुरू गरिने भएको हो।चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरू गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरू गरिनेछ।



गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ। चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ। गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरू गर्न लागिएको हो।




चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणक छनोटको काम थालिएको छ। गणनामा ४० वटा हात्ती प्रयोग गरिँदैछ। दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ।

बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइँदै छ। यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिनेछन्। गणनामा खटिनेका लागि यही चैत ६ र ७ गते सौराहामा तालिम दिइँदै छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरूको बासस्थानको व्यवस्थापनलगायतका तयारी भइरहेको छ।

नेपालमा सन् २०१५ मा भएको पछिल्लो गणनामा ६ सय ४५ गैँडा रहेको पाइएको थियो।



सम्बन्धित
Loading...