चितवनमा आठ महिनामा जम्मा २९ प्रतिशत विकास खर्च
भरतपुर । चालू आर्थिक वर्ष ०७७/७८ सकिन अब चार महिनामात्रै बाँकी छ । चितवनमा चालू आवको आठ महिनामा जम्मा २९ प्रतिशत विकास (पुँजीगत) खर्च भएको पाइएको छ । जिल्लाका संघअन्तर्गतका सरकारी कार्यालयहरुले अबको चार महिनाभित्र ७१ प्रतिशत विकास खर्च गर्नुपर्ने देखिएको छ ।
जिल्लामा संघअन्तर्गत सातवटा स्थानीय निकायसहित ६६ वटा सरकारी कार्यालयहरु रहेका छन् । चालू आवमा चितवनका लागि पाँच अर्ब ८५ करोड ५२ लाख ७२ हजार रूपैयाँ पुँजीगत बजेट प्राप्त भएको थियो । पुँजीगत बजेटलाई विकास बजेटका रुपमा लिइन्छ ।
चालू आवको फागुन मसान्तसम्म जम्मा एक अर्ब ७१ करोड ९२ लाख ५९ हजार ३०८ रूपैयाँ अर्थात् २९ प्रतिशत पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनले जानकारी दिएको छ । गत आवको यस अवधिमा संघीय बजेटको ३१ प्रतिशत विकास खर्च भएको थियो । विकास खर्च धेरै गर्ने सरकारी कार्यालयहरुमा पर्ने संघअन्तर्गतका सडक डिभिजन र सघन सहरी विकास कार्यालयले पनि पर्याप्त विकास खर्च गर्न सकेका छैनन् ।
सडक डिभिजन भरतपुरले यस आवको फागुन मसान्तसम्म जम्मा ३८ प्रतिशत र सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले ३४ प्रतिशत विकास खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनका सूचना अधिकारी कोष नियन्त्रक शरदचन्द्र शर्मा भट्टराईले बताए ।
