चितवनका ७ स्थानीय तहका एमालेका जनप्रतिनिधि को कता तिर
भरतपुर । नेकपा एमालेमा केन्द्रीयस्तरमा देखिएको विवाद जिल्ला तहसम्म फैलिएको छ । चितवनका हरेक स्थानीय तहमा नेकपा एमालेको विवाद छताछुल्ल भएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु दुई समूह (माधव नेपाल र केपी ओली) मा विभाजित भएका छन् ।
नेकपा एमालेको केन्द्रीय राजनीतिमा यतिबेला दुई पक्षबीच (ओली समूह र माधव समूह)को विवाद चुलिँदै गएको छ । नेकपा एमालेको केन्द्रीय राजनीतिमा देखिएको समूहबीचको विवाद चितवनका स्थानीय तहमा पनि देखिएको छ । भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु माधव र ओली पक्षमा खुल्दै टकराब बढाउन थालेका छन् ।
एमालेभित्रै एक पक्षले अर्को पक्षलाई खुइलाउने परम्परा बढ्दै जाने सङ्केत देखिएको छ । केही जनप्रतिनिधि आफू कुनै पक्षमा नरहेको हुँदा नेकपा एमालेमात्रै रहेको बताइरहेका छन् । केही जनप्रतिनिधिहरु केन्द्रको विवादले स्थानीय तहको विकासमा कुनै अवरोध नआउने दोवी गर्छन् । वास्तवमा एमालेको केन्द्रको विवाद तल्लो तहका कार्यकर्ताले रूचाएका छैनन् र पुनः एकतामा जोड दिइरहेका छन् ।
एमालेको विवादले पार्टी फुटमै पुगेको खण्डमा दुवै समूह जनताबाट तिरस्कृत हुने र आगामी चुनावमा एमालेको दुवै समूह बढारिनेमा दुई मत नरहेको चितवन जिल्लाका केही एमाले जनप्रतिनिधिको भनाइ छ ।
