नाम सुकुम्बासीको जग्गा गैह्रसुकुम्बासीको


रामकुमार श्रेष्ठ –



नवलपरासी, १० चैत्र । पूर्व नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा १ सय बढी विगाहा जग्गा सुकुम्बासीको नाममा गैह्रसुकुम्बासीले हडपेको पाइएको छ ।




२०४० देखि २०५५ सालसम्ममा पटक पटक सुकुम्बासीको नाममा तत्कालिन सु्कुम्बासी आयोगले जग्गा दिएको भए पनि उक्त जग्गा गैह्रसुकुम्बासीले ओगटेको पाइएको हो ।

यहाँ रहेको २ सय बढी सुकुम्बासीले यहाँ अहिले पनि खनजोत तथा जोतभोग गर्दै आएको भए पनि जग्गा धनि पूर्जा भने गाउँका टाढाबाढा, स्थानीय नेता तथा अगुवाको हातमा रहेको पाइएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट ३ अर्थात साविक देउराली गाविसको वडा नंं ३ र ४ मा बेलहानीदेखि गिरुवारी हुँदै जुल्पीटारसम्म सुकुम्बासीले जंगल फाँडेर बसोबास शुरु गरे । पटक पटक प्रहरी, सुरक्षा निकाय, वन कार्यालय सम्बन्धित निकाय मिलेर वस्ती उठाउने, बस्तीमा आगो लगाउने गरे तथापि अन्ततः सुकुम्बासीलाई जग्गा वितरण शुरु गर्यो ।

तर अहिले जसले आफ्नो जग्गा भनेर बसोबास गरेर खनजोत गरेर बसेको छ त्यही ठाउँमा अर्कैले मेरो जग्गा हो भन्दै हातमा लालपूर्जा लिएर जग्गा दावी गर्न आएपछि यहाँका सुकुम्बासीहरुको विल्लिबाँठ हुने भएको छ ।

आफूहरु २०३७ सालदेखि बस्दै आएको भए पनि यहाँका आफ्नो हातमा लालपूर्जा पर्न नसकेको स्थानीय डिलमाया कुमाल बताउँदछन् ।

यस्तै पीडा छ टेकनारायण श्रेष्ठको पनि । उनले आफूले जोतभोग गर्दै आएका जग्गा मध्ये केही थोरैको जग्गा धनि प्रमाणपुर्जा पाए पनि अन्य जग्गाको पूर्जा भने गाउँका केही टाठाबाठाको हातमा रहेको उनले बताए ।

स्थानीय जानकारहरुका अनुसार यहाँ रहेको २ सय बढी घर सुकुम्बासी मध्ये केहीको हातमा लालपूर्जा भए पनि अधिकांश असली सुकुम्बासीको हातमा अझै लालपूर्जा आएको छैन । कतिपय वास्तविक सुकुम्बासीले आफूले जोतभोग गरे अनुसार त कतिपयलाई १ देखि ३ कठ्ठासम्म जग्गा दिएर मुख टाल्ने काम गरेर बाँकी गाउँका टाठाबाठाहरुले जग्गा लिएको ति सुकुम्बासीहरुको भनाई रहेको छ ।

हुप्सेकोट गाउँपालिका ३ गिरुवारीमा सरस्वती संस्कृत तथा साधारण मावि विद्यालय निर्माणका लागि सुकुम्बासीले लालपूर्जा पाउँदा सँगसँगै अन्यलाई पनि जग्गा बेचिएको थियो तर उक्त रकम विद्यालयको खातामा नपुगेको र बीचमै गाउँका टाढाबाठाले खाएको दावी गर्छन् स्थानीय लालबहादुर मल्ल ।

३० बर्षदेखिको यहाँको विवाद अझै सुल्झिन सकेको छैन । बिचौलियाका कारण खनजोत गर्ने र स्कूलको नाममा पैसा तिरेर जग्गा लिने तर अहिले उपभोग गर्न नपाउने दुवै पक्ष अन्यायमा परेको कतिपयको ठहर रहेको छ ।

हातमा लालपूर्जा हुनेले जग्गा जोतभोग गर्न नपाउने, जोतभोग गर्नेको हातमा लालपूर्जा नहुने यहाँको प्रमुख समस्या भएको हुप्सेकोट गाउँपालिका ३ का वडा अध्यक्ष छविलाल मिथुन बताउँदछन् । यस विषयमा वडा कार्यालयबाट बुझ्ने काम भईरहेको र सबै बुझिसकेपछि मात्र के गर्ने भन्ने निर्णयमा पुग्ने सकिने उनको भनाई छ ।

यहाँको झण्डै एक सय बढी विवाहा जग्गा अहिले विवादित अवस्थामा रहेको छ । जग्गाको उपभोग एउटाले गर्ने र लालपूर्जा अर्कोको नामा भए पछि स्थानीयले वडा कार्यालयमा जग्गाको सामुखिक रुपमा रोक्का समेत गरेका छन् ।

https://www.youtube.com/watch?v=AGp0ALmCp1o



सम्बन्धित
Loading...