रुपन्देहीको मर्चवारीमा कर्मचारीद्वारा काम बन्द
जनप्रतिधिनिले अश्लिल शब्द बोलेर गालीगलौज गरेको र हातपात समेत गरेको आरोप लगाउँदै कर्मचारीले आइतबारदेखि प्रशासनिक ठप्प पारेका हुन् ।
मर्चवारी गाउँपालिकाका कर्मचारीहरूले संयुक्त हस्ताक्षरमा एउटा ‘सूचना’ जारी गरी अनिश्चितकालका लागि कार्यालयका कामकाज ठप्प पारेको जनाएका छन् ।वडा न.३ का वडा अध्यक्ष नारायणबहादुर यादवले योजनाहरूको कार्यसम्पादन मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी गर्न दबाब दिँदै गाउँपालिका कार्यालयका सब इन्जिनियर प्रेमसागर पासवानलाई अश्लिल शब्दले गालीगलौज र हातपात गरेको जनाइएको छ ।
कर्मचारीहरूले गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ३ का वडाध्यक्ष यादवविरुद्ध रुपन्देही जिल्ला प्रशासन कार्यालमा उजुरी दिएका छन् । विगतमा समेत बारम्बार जनप्रतिनिधिहरूबाट यस्ता गतिविधि भइरहेको कर्मचारीहरूको आरोप छ।
यही चैत ८ गते बसेको कर्मचारीहरुको विशेष बैठकले कार्यालयका काम ठप्प पार्ने निर्णय गरेको हो । वाडाध्यक्ष यादवले घटनाप्रति क्षमा याचना गर्नुपर्ने र भयरहित वातावरण सिर्जना गर्नुपर्ने कर्मचारीहरूको माग छ । माग पूरा नभएसम्म कार्यालयका सबै काम बन्द रहने लेखा अधिकृत लेखा अधिकृत युवराज घिमिरेले जानकारी दिए ।
यता, मर्चवारी गाउँपालिका प्रवक्ता तथा वडा न.३ का वडाध्यक्ष यादवले कर्मचारीहरूको आरोप अस्वीकार गरेका छन् । उनले आफूले गालीगलौज र हातपात नगरेको जिकिर गरेका छन् । योजनाका काम सही तरिकाले मूल्याकङ्न गरी रकम भुक्तानी गर्न आग्रह गर्दा कर्मचारीहरूले आनाकानी गरेपछि आफू झर्किएर बोलेको उनको भनाइ छ ।
कर्मचारीहरूले योजना अनुगमन र मूल्याङ्कन गरी रकम भुक्तानी गर्न अनावश्यकरूपमा ढिलो गर्ने गरेको यादवको आरोप छ । उनले उपभोक्ताले शुरू गरेको बाटो निर्माणको पहिलो चरणको काम सम्पन्न भई मूल्याङ्कन समेत हुँदा पनि रकम भुक्तानी नगरेको आरोप लगाए ।
कर्मचारीले आयोजनाको सम्झौता गर्न पनि अनावश्यक रूपमा बढी समय लगाउने गरेको वडाध्यक्ष यादवको आरोप छ ।विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले मङ्गलबार मर्चवारीका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई राखेर छलफल गरेको छ ।