प्रधानमन्त्री रोजगार कार्यक्रमः प्रचार बढी, ज्याला कम

नवलपुरमा सुचीकृत बेरोजगार ५ हजार बढी, १५ सयलाई मात्र सय दिने रोजगार



राम कुमार श्रेष्ठ- नवलपरासी ।



प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचार मुखी र महत्वकांक्षी मध्यको एउटा कार्यक्रमः प्रधानमन्त्री रोजगार कार्यक्रम नवलपुरमा निकै कम प्रभावकारी देखिएको छ ।

न्युन ज्याला पनि नपाउने, सिप र शिक्षा नभएका, विपन्न, एकल महिला आदिलाई लक्षित गरि ल्याईएको प्रधानमन्त्री रोजगार कार्यक्रमको ज्याला ज्यादै न्युन भएका कारण लक्षित समुदाय नै यो कार्यक्रमबाट लाभांवित हुन नसकेको सरोकारवालाहरु बताउँदछन् ।




प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आधार मान्ने हो भने नवलपुरका ८ पालिकामा ५ हजार १ सय २ जना बेरोजगारमा सुचिकृत भएका छन् । त्यो पनि एक बर्षमा त्यो परिवारको ५१ हजार ७ सय आम्दानी नभएकाहरु । ति मध्ये नवलपुरमा सरदर १६ सयले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय दिन यस बर्ष रोजगार पाउनेदेखिन्छन् भने बाँकी ३५ सय यो कार्यक्रममा समेन्ट सकिने छैन्।

एकातिर नवलपुरका स्थानीय पालिका तथा जिल्ला स्तरको निर्णय अनुसार सीप नभएकोले न्यूनतम ७ सय रुपैयाँ प्रतिदिन ८ घण्टा काम गर्दाको न्यूनतम ज्याला दिनु पर्ने प्रावधान छ जुन प्रावधान सबै पालिकाहरुले अन्य क्षेत्रमा कार्यान्वयन गरेको देखिन्छ। तर, राष्ट्रिय कार्यक्रम अझ त्यसमा पनि प्रधानमन्त्रीकै नाम जोडिएको कार्यक्रममा तोकिएको भन्दा पनि ज्याला कम अर्थात दैनिक ५ सय १७ रुपैयाँ हुनुले कार्यक्रम माथिको प्रभावकारीता र लोकप्रियता विस्तारै घट्दै गएको छ।

त्यसो त यो कार्यक्रम अत्यन्तै न्यून आय भएकालाई समेट्ने कार्यक्रम भएकोले यसको अर्थ विपन्न परिवारका लागि निक्कै उपयोगी देखिन्छ तथापि कार्यक्रम सीपमुलक भएको भए अझ उपयोगी हुने सरोकारवालाहरु बताउँछन् ।
त्यसो त यो कार्यक्रम पालिकाहरुबाट लागू हुने भए पनि कार्यक्रमको प्रभावकारिताबाट जनप्रतिनिधिहरु नै सन्तुष्ट देखिदैनन्।

कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया यो कार्यक्रम विपन्न तथा अन्त्य न्यून आए भएका, सीप तथा शिक्षा नभएका लागि लक्षित भए पनि यसबाट उनीहरुलाई सीप प्रदान गर्न सकिने भए थप प्रभावकारी हुने बताउँदछन् ।
मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्दबहादुर राना पनि यस कार्यक्रम प्रति सन्तुष्ट देखिदैनन्।

राना भन्छन्– – ‘एक त ज्याला ज्यादै न्यून भयो, अर्को तिर कार्यविधि खासै राम्रो भएन।’ रानाका अनुसार यस कार्यक्रमलाई सीप नभएकालाई सीप सिकाएर सँगसँगै रोजगारी सिर्जना गर्न सक्ने कार्यक्रम भएको भए प्रभावकारी हुने थियो ।
राज्यको बर्षेनी करोडौं लगानी हुने यो कार्यक्रम प्रभावकारी भन्दा पनि प्रचारमुखी मात्र भएको उनको ठहर छ। नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको भन्दा पनि कम ज्याला भएका कारण कामदार पाउनै मुस्किल हुने र काम पाइहाले पनि धेरैले बीचमै छाड्ने गरेको पालिकाका रोजगार संयोजकहरु नै बताउँने गर्दछन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लक्षित समुदाय दिनभर काम गरेर ज्याला लिएर साँझ विहानको छाकटार्ने समुदाय भए पनि उनीहरुलाई एक महिना काम सकेपछि मात्र त्यो पनि बैंकमा रकम जम्मा गरिदिने प्रावधानले पनि अझ कार्यक्रममाथि लक्षित समुदायको रुची घट्दै गरेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख राना बताउँछन् ।

नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाले कति जनालाई कुन काममा लगाउने भन्ने तय गर्न बाँकी छ भने बाँकीले बाटो सरसफाई, कुलो सरसफाई, जंगल सरसफाई, खेला तथा नदी तट्बन्धन आदिमा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएकाहरुलाई काम लगाउन शुरु गरेका छन्।



सम्बन्धित
Loading...