कोरोनाको एक वर्ष : शैक्षिक गुणस्तरमा ह्रास
भरतपुर । कोरोना भाइरसको कहरको प्रकोप फैलिएको आज बुधबार एक वर्ष पूरा भएको छ । आजकै दिनबाट नेपालभर लकडाउन लगाइएको थियो । चैत ११ गतेदेखि लगाइएको लकडाउन असार मसान्तसम्म कायम रहेको थियो । असारबाट असोज १ गतेसम्म देशका विभिन्न ठाउँमा निषेधाज्ञा भएको छ ।
कोरोना भाइरसकै कारण चितवनको शैक्षिक गुणस्तरमा केही न केही ह्रास आएको शिक्षाविद्हरु बताउँछन् । ‘लकडाउनकै कारण समयमै एसइई परीक्षा हुन सकेन, भर्ना अभियान चल्न सकेन । कक्षाहरु नियमित चल्न सकेनन्’, भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले भने । उनका अनुसार गत वर्षको कोरोना कहरका कारण चितवनको शैक्षिक अवस्थामा मध्यम रहेको अनुमान गरेका छौँ ।
उनले भने, ‘विगतका वर्षहरुको तुलनामा कोरोनाको वर्षमा शैक्षिक गुणस्तरमा केही कमी पक्कै भएको छ, त्यस कमीलाई पूरा गर्न लागिरहेका छौँ ।’ विगतका वर्षहरुमा भर्ना अभियान जोडतोडले चल्थ्यो । कोरोनाको वर्षमा भर्ना अभियान नै चलेन ।
जिल्ला शिक्षा समन्वय समितिका चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार कोरोनाका कारण नियमित पठनपाठन हुन नसकेको र असारपछि बल्ल अनलाइनका कक्षाहरु चले । शिक्षकहरु घरघरै गएर गृहकार्य दिने, टोलटोलमा गएर पढाउने कार्य पनि प्रभावकारी बन्न सकेन, जसका कारण विद्यार्थीले चाहेजति शिक्षा लिन सकेनन् ।
समयमै एसइई परीक्षा हुन नसकेपछि विद्यार्थीको मनस्थिति राम्रो रहेन । कोरोनाकै कहरमा आन्तरिक तरिकाबाट विद्यालयहरुले एसइई परीक्षा लिँदा पत्याउनै मुस्किल पर्ने नतिजा आयो । विद्यार्थीले ल्याउनै नसक्ने अङ्क पनि कोरोनाका कारण आन्तरिक परीक्षा लिँदा विद्यार्थीहरुले ल्याएको पाइयो ।
बालकुमारी कन्या माविका शिक्षक खगराज ओझाले छठपछि बल्ल कक्षाहरु नियमित हुन थालेको बताए । उनले भने, ‘झन्डै ६ महिना पढाइ प्रभावित भयो, त्यसको असर त गुणस्तरमा केही न केही परेको छ ।’
कोरोनाका कारण वैशाखमा हुने भर्ना अभियान भदौमा सञ्चालन भयो । समयमै शिक्षक तथा कर्मचारीले तलब पाएनन् । तलब नपाउने समस्या संस्थागत विद्यालयमा बढी भयो, अझै केही संस्थागत विद्यालयका शिक्षकले तलब नपाएको गुनासो इस्टुले गरिरहेको छ । संस्थागत विद्यालयले कम्तीमा दुई महिनाको मासिक शुल्क मिनाहा गर्ने निर्णय गरेको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख पौडेलले कोरोनाकै कहरमा भरतपुर महानगरका हरेक विद्यालयमा इन्टरनेट जडान गरिएको बताए । उनले भने, ‘कोरोनाको कहरमा चितवनका शैक्षिक गुणस्तरमा ठूलो क्षति हुन दिएका छैनौँ ।’ कोरोनाकै कहरका कारण यसपटकको एसइई दुई महिना ढिला गरिएको छ भने अबको शैक्षिक सत्र असारमा हुने भएको छ ।
