बितेको वर्ष फर्केर हेर्दा : प्रभावभन्दा त्रास बढी भएको त्यो समय
भरतपुर । नौलो मानिसलाई प्रवेश निषेध । ठाउँठाउँमा यस्तै सूचना टाँसिएका थिए । गाउँघर र सहरका गल्लीहरुमा आवतजावत सहज थिएन । मानिसहरु जहाँको त्यहीँ रोकिए । हातमा पैसा छ, तर किन्ने वस्तु छैन । बेच्ने पसलहरु रित्तिएका छन्, बन्द छन् । एउटै घरमा पनि वल्लो कोठाबाट पल्लो कोठामा सम्पर्कविच्छेद भयो । मानिसबीच भेटघाट नै हुन छाड्यो । बालबालिकाहरु एउटै कोठामा बन्दीजस्तो भएर बसे ।
केही दिन सहज भए पनि गाँसबासको समस्या भएपछि मानवीय व्यवहार परिवर्तन हुन थाले । जोहो गरिराखेका अन्न पनि सकिए र पैसा पनि रित्तिएपछि बाध्य भएर धेरैजसो मानिसहरु सहरबाट स्थायी घरतर्फ लागे । अनि, गाउँका मानिसहरु कोरोना सर्ने डरले किनमेल गर्न सहर पनि झरेनन् ।
जसरी पनि घर पुग्नुपर्ने थियो, १० दिनसम्म हिँडेरै किन नहोस् । कालोपत्रे सडकमा साना नानीबाबु र पोकापुन्तरा बोकेर घर फर्किनेहरुको लामले कोरोना महामारीभन्दा बढी दुःखपीडा बुझाएको थियो । चाउचाउ र चिउरा खाँदै दुधेबालक बोकेर राजधानी छाड्नेहरु जीवनको आशा लिएर हिँडेका थिए । सडकआसपासका सबै होटलहरु बन्द भए । अर्थात्, सरकारको निषेधाज्ञा तोडेर भए पनि आफ्नो गाउँघरतर्फ लागे । कतिपय हिँडेरै गए, कति मालवाहक गाडीको डिब्बाभित्र थुनिएर । किनकि, यात्रुबस सञ्चालनमा रोक थियो ।
