कृषकद्वारा जमिन बचाउँ आन्दोलन सुरु, जथाभावी माटो खन्न थालेपछि विरोध
झापाको कचनकवल गाउँपालिका धान सुपरजोनका रुपमा पाँच वर्ष अघि घोषणा भयो । नेपालकै होचो भू– भागका रुपमा चिनिएको यो ठाउँ आफैंमा महत्वपुर्ण छ । अझ, धान उत्पादनका हिसावले जिल्लामै अब्बल रहेको यो ठाउँलाई सरकारले समेत धान सुपरजोनका रुपमा घोषणा गरेपछि यहाँका कृषक व्यवसायिक खेती प्रति थप उत्साहित बने । तर, किसानको त्यो उत्साह धेरै बर्ष टिक्न सकेन । कारण हो– इँटा व्यवसायीले त्यही ठाउँमा इँटा भट्टा सञ्चालन गर्दै जथाभावी माटो खन्दा खेती योग्य जमिन भट्टामा परिणत हुनु ।
पछिल्लो समयमा गाउँपालिकामा धमाधम इँटा उद्योग खोल्ने र उद्योगलाई चाहिने माटो त्यही खेतीयोग्य जमिन खन्दै लैजान थालेपछि उर्भर भूमि यतिवेला मासिएर भट्टामा परिणत हुन थालेपछि यहाँका कृषक चिन्तित हुन थालेकाछन् । जमिन भएन भने बालबच्चालाई कसरी खुवाउनु भनेर कचनकवल गाउँपालिकाका किसान अमृतलाल राजवंशीले प्रश्न गर्नुभयो । खाने केही नभएपछि बाचेर कसरी खाने उहाँको गुनासो छ ।
चण्डी इँटा उद्योगले कचनकवलका बबलु मियाँको सात कट्ठा, आस्मा सावुद्धिनको एक विगहा, रमा राजवंशीको ८ कट्ठा जमिन एक महिना अघि खरिद गरेको छ । त्यहाँको जमिनको मूल्य विगहाको १२ देखि १४ लाख पर्ने उद्योगीले २० लाख रुपैयाँ विगहा दिएर खरिद गरेको किसानहरू बताउँछन् । उद्योगीले खरिद गरेको जमिनमा धान राम्रो उत्पादन हुन्छ । त्यस आसपासका अन्य किसानले पनि वर्षौँदेखि धान खेती गर्दै आइरहेका छन् । उद्योगीले खरिद गरेको जमिनमा जेसिभी लगाएर माटो खन्दै भट्टा लैजान थालेपछि किसानहरु खेतीयोग्य जमिन मासिनलागेको भन्दै बचाउन लागेका हुन् ।
