कोभिड लकडाउनको एक वर्ष: सवा तीन खर्ब रुपैयाँको क्षति, पुनरुत्थानलाई साढे छ खर्ब आवश्यक
गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरिएपछि नेपालीहरूले चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारी आफ्नै दैलोमा आइपुगेको अनुभूति गरे।
यो एक वर्षको अवधिमा करिब पौने तीन लाख मानिस सङ्क्रमित भए भने तीन हजारभन्दा धेरैको ज्यान गयो।
जनस्वास्थ्यका अतिरिक्त महामारीले सबभन्दा धेरै प्रभाव जनजीविकामा पार्यो।
लकडाउन सुरु भएको एक वर्षमा नेपालमा के कस्तो असर देखियो त?
वृद्धिदरमा धक्का, गरिबी बढ्यो
पछिल्ला केही वर्षहरूमा नेपालको आर्थिक वृद्धिदर लगातार झन्डै सात प्रतिशतको हाराहारीमा उक्लिरहेको थियो।
अचानक आइपरेको कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन जस्ता उपायका कारण आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक हुनपुग्यो।
अर्थात् अघिल्लो वर्षको तुलनामा उक्त अवधिमा देशको अर्थतन्त्र खुम्चियो। भूकम्प र नाकाबन्दीका बेलामा समेत नेपालको अर्थतन्त्र खुम्चिएको थिएन।
“सरकारले सुरुमा आकलन गरेकोभन्दा त निकै धेरै असर देशको अर्थतन्त्रमा परेको छ। यत्तिको धेरै असर आर्थिक वृद्धिमा पर्ला भन्ने ठानिएको थिएन,” अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शङ्कर शर्माले भने।सरकारले महामारी हुँदाहुँदै पनि सवा दुई प्रतिशतले अर्थतन्त्र विस्तार हुनसक्ने ठानेकोमा अहिले तथ्याङ्क विभागले नै १.८८ प्रतिशतले अर्थतन्त्र खुम्चिएको आँकडा प्रस्तुत गरेको छ।
अर्थतन्त्र खुम्चिएका कारण यसको प्रत्यक्ष असर गरिबीमा परेको देखिन्छ। “योजना आयोगकै प्रतिवेदनमा पनि थप १२ लाख मानिस गरिबीमा धकेलिएको भन्ने विवरण आएका छन्,” अर्का अर्थविद् डा. पुष्प शर्माले बताए।यसले आगामी वर्षहरूमा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्ने काम थप चुनौतीपूर्ण हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
