उद्योगी व्यवसायीको एउटै स्वर : फेरि लकडाउन नहोस्
एक वर्षअघि आजकै दिन अर्थात् २०७६ चैत ११ मा सरकारले कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी ‘लकडाउन’ घोषणा गरेको थियो । लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिना मुलुकमा व्यापार–व्यवसाय लगायतका गतिविधि ठप्प प्रायः रहे ।
दुःखद संयोग नै मान्नुपर्छ, २०७७ चैत ११ सम्म आइपुग्दा जनस्वास्थ्यविदहरुले कोरोना संक्रमणको दोस्रो लहर फैलन सक्ने चिन्ता प्रकट गरिरहेका छन् । उनीहरुले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान दिन सरकारलाई घच्घच्याउन थालेका छन् ।
कोभिड–१९ को विश्व महामारीका कारण गत वर्ष सरकारले चैत ११ गतेदेखि करिब ४ महिना लकडाउन घोषणा गरेको थियो । संक्रमणको जोखिम कायम रहेका केही क्षेत्रमा त्यसपछिका केही महिना निषेधाज्ञा जारी भयो । जसका कारण आम सर्वसाधारणको जनजीवन निकै कष्टपूर्ण बनेको थियो भने मुलुककै अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो ।
