क्वारेन्टाइन र आइसोलेसनलाई ब्युँझाउने तयारी, घरभित्रै होली खेल्न प्रशासनको आग्रह
भरतपुर । चितवन जिल्ला प्रशासन कार्यालयले पहिलेका क्वारेन्टाइन र आइसोलेसनहरुलाई पुनः सञ्चालन गर्ने तयारी थालेको छ ।नेपाल र छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गृह मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनलाई तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
‘क्वारेन्टाइन र आइसोलेसनहरुलाई तयारी अवस्थामा राख्न मन्त्रालयबाट पत्र आएको छ, तर पत्र आउनुअघि नै हामीले अस्पतालका आइसोलेसनहरुलाई तयारी अवस्थामा राखेका छौँ’, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘क्वारेन्टाइनहरु पनि तयारी अवस्थामै छन्, होम आइसोलेसनहरु बनाउन भनेका छौँ, जोखिम न्यूनीकरणका लागि हामी उच्च सतर्कतामै रहेका छौँ ।’
उनका अनुसार चितवनमा कोरोना सङ्क्रमितको संख्या हालसम्म बढेको छैन । उनले भने, ‘फाट्टफुट्ट एक–दुई जनामा देखिएको छ, छिमेकी मुलुकमा डरलाग्दो तरिकाले फैलिएको हुनाले धेरै सजग हुनुपर्ने बेला आएको छ ।’ उनले भीडभाडका कार्यक्रम नगर्न, अनावश्यक हिँडडुल नगर्न र बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न चितवनवासीलाई अनुरोध गरेका छन् ।
यसअघि नै जिल्लाभित्र कुनै पनि सभा–सम्मेलन तथा मानिसको बढी जमघट हुने खालका गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन जारी गरेको उनले बताए । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरुपमा पालना गर्न उनले आग्रह गरे ।
