मानवअधिकार आयोग भन्छ– वृद्धाश्रमको अवस्था बिजोग




भरतपुर । मानवअधिकार आयोगको एउटा टोलीले सोमबार र मंगलबार चितवन र तनहुँका ५ वटा वृद्धाश्रम अनुगमन गरेको छ ।अनुगमनका क्रममा आश्रमको व्यवस्थापन निकै कमजोर पाइएको आयोगले बुधबार अन्तक्र्रिया कार्यक्रम गरी जानकारी दिएको छ ।

मानवअधिकार आयोगकी मानवअधिकार अधिकृत कल्पना आचार्य नेपालले वृद्धाश्रमहरु मापदण्डअनुसार सञ्चालनमा नरहेको भेटिएको बताइन् । चितवन र तनहुँको देवघाटवारिपारिका केही आश्रमहरु अनुगमन गरिएको थियो ।अधिकृत नेपालका अनुसार कुनै पनि आश्रमले मापदण्ड पूरा गरेका छैनन् । गैरआवासीय नेपाली संघ (एनआरएन)द्वारा सञ्चालित आश्रममा गरिएको अनुगमनका क्रममा भौतिक पूर्वाधारहरु ज्येष्ठ नागरिकमैत्री नभेटिएको हो ।




आश्रममा रहेका नागरिकलाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा नभएको, सुत्ने ठाउँ साँघुरो भएको, शौचालय ठीक नभएको उनले बताइन् । यस संस्थाले मासिक ३ हजार रूपैयाँ प्रतिव्यक्ति पैसा उठाउने गरेको छ ।

‘एनआरएनले सञ्चालन गरेको आश्रम पनि मापदण्डयुक्त छैन, पोषणयुक्त खानेकुरा छैन, स्वास्थ्य छैन, कोठा र शौचालयको बिजोग छ’, मानवअधिकार अधिकृत नेपालले भनिन्, ‘अधिकांश आश्रमको अवस्था दयनीय नै छ ।’ नियमित र पोषणयुक्त खानेकुरा नहुँदा सबैलाई ग्याष्ट्रिकसमेत भएको पाइएको उनले बताइन् ।

देवघाटमा रहेको रोटरी करूणालयको अवस्था पनि बिजोग रहेको पाइएको छ । ज्येष्ठ नागरिकलाई हुनुपर्ने स्याहारसुसार र हेरचाह नभएको आयोगले जनाएको छ । खानपिनहरु पनि सन्तुलित र पोषणयुक्त नरहेको अनुगमनमा भेटिएको छ ।

त्यस्तै, आयोगले सामाजिक सुरक्षाभत्ता लिन समस्या हुने गरेको बताएको छ । वृद्ध आमाबुबाको भत्ता अरुले नै बुझिदिने, पैसा लिन बैंकसम्म धाउनुपर्ने, वर्षमा एकपटक भत्ताकार्ड नवीकरण गर्न पुनः आफ्नै जिल्लामा जानुपर्नेजस्ता समस्यामा उनीहरु रहेको आयोगको भनाइ छ ।

अस्पतालमा लाइन बस्नुपर्ने, गाडीमा पूरै भाडा लिने, सिट नछाड्नेजस्ता समस्या हुने गरेको गुनासो ज्येष्ठ नागरिकको छ । बिरामी हुँदा तत्काल र सही उपचार नपाउने गरेको उनीहरुको भनाइ छ । राज्यले निःशुल्क भनेको औषधिबाट वञ्चित हुनु परेको, ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने कर्मचारी नभएको अनुगमनबाट पत्ता लागेकोले सोहीअनुुसार सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गरिने अधिकृत नेपालले बताए  ।



सम्बन्धित
Loading...