लकडाउनको एक वर्ष : निराशामा बित्यो पोखराको पर्यटन
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्ष चैतमा सरकारले निषेधाज्ञासहित बन्दाबन्दीको (लकडाउन) घोषणा ग¥यो । आन्तरिक तथा बाह्य पर्यटकले सधैँ भरिभराउ हुने पोखरालगायत देशभरका पर्यटकीय क्षेत्र लकडाउनका कारण सुनसान बने ।विश्वव्यापी रूपमा कोरोना त्रास बढ्दै गएसँगै सरकारले छिमेकी देशसँगका सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गय्यो ।
त्यसपछि झन् पर्यटकीय गतिविधि ठप्पै भयो । बन्दाबन्दी हुनु अगाडि नेपाल भ्रमणमा आएर यतै बसेका केही विदेशी पर्यटकबाहेक करिब ६ महिनासम्म पर्यटन क्षेत्रले विदेशी पाहुनाको मुख देख्न पाएन । कोरोना सङ्क्रमण फैलिने त्रासका कारण लामो समयसम्म आन्तरिक पर्यटनसमेत ठप्प भयो ।
कोरोना सङ्क्रमण फैलिएको झण्डै १ वर्ष पुग्न लाग्दा फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटकसँगै शैक्षिक र विभिन्न सङ्घसंस्थाका भ्रमणको चहलपहल वृद्धि हुन थालेको अवस्थामा फेरि छिमेकी मुलुक भारतमा सङ्क्रमण वृद्धि भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । गण्डकी प्रदेशका अधिकांश जिल्लामा स्थानीय प्रशासनले सूचना जारी गरेर सभा, समारोह र भेला हुन नपाउने गरी पुनः रोक लगाएको छ ।
