सडक विस्तार आयोजनामा चिनियाँ ज्यादति
मजदुर भन्छन्– तलब नपाउने पनि हामी, पिटाइ खाने पनि हामी !
नारायण पंगेनी –
नवलपुर– दुई वर्षअघि चैत ८ गते बुटवल–नारायणघाट खण्ड विस्तारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट शिलान्यास गरेका थिए ।
एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति गर्न भन्दै प्रधानमन्त्री ओलीले शिलान्यास गरेको यो सडकलाई दुई खण्डमा विभाजन गरी काम शुरु गरिए पनि ठेकेदार कम्पनी ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ले बेलाबेलामा विभिन्न कारण देखाएर ढिलासुस्ती गरिरहेको छ ।
निर्माण शुरु भएको दुई वर्ष पुगिसक्दा कामको प्रगति भने ४ प्रतिशत मात्रै भएको आयोजना प्रमुख रमेशचन्द्र्र दिष्टीले बताए । सम्झौताअनुसार अबको डेढवर्षभित्र सम्पन्न भइसक्नुपर्नेछ । अहिलेसम्मको कामको प्रगति हेर्दा आयोजना सम्पन्न गर्न वर्षौं लाग्ने देखिएको छ ।
कोरोना संक्रमणका कारण भएको लकडाउनले ६ महिना अवरोध भएको काममा रुख कटान र विजुलीको पोल हटाउने काममा केही समय ठेकेदारको असहमितले ढिला भएको भए पनि त्यो समस्या टुंगिएको दिष्टीले बताए ।
‘विभिन्न किसिमका प्राविधिक जटिलताहरु हट्दै गए पनि बेलाबेलामा सानो सानो कुरामा समस्या निम्तिने गरेको छ,’ उनले भने–‘सानो सानो कुरामा समस्या निम्तिनु दुर्भाग्यको कुरा हो ।’
गत वर्ष चैतमा कोरोना संक्रमणका कारण ठप्प भएको काम झण्डै ६ महिनापछि शुरु गरिए पनि मजदुरले तलब नपाएको भन्दै मजदुरहरु नै आन्दोलित भए । नवलपुरको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको रोहबरमा लिखित सहमति गरेपछि मजदुरहरु काममा फर्किएका थिए ।
सहमतिपछि पनि मजदुरहरुले समयमा तलब पाउन नसकेपछि मजदुरहरु पटक पटक आन्दोलित भए । तेस्रो पटक यो साता पनि सडक विस्तारको कामले गति लिन सकेन । तेस्रो पटक भने आफूहरुले नभई ठेकेदार कम्पनीले नै १५ दिनका लागि बिदा दिएको अखिल नेपाल ट्रेड युनियन महासंघका इकाइ अध्यक्ष बासुदेव गैरे बताउँछन् ।
हरेक महिना मजदुरको तलब कटौती
ठेकेदार कम्पनीले तलब नदिएको समस्या सहमतिमा टुंगिएपछि पनि मजदुरले पूरा तलब बुझ्न कहिल्यै पाएका छैनन् ।
हरेक महिना मजदुरको तलब २ हजारदेखि १० हजारसम्म काटेर दिने गरेको मजदुरहरुको आरोप छ । आफूहरुले पारिश्रमिक कम आएकोबारेमा बुझ्न खोज्दा विभिन्न किसिमको आरोप लगाउने गरेको गैरेले बताए । पछिल्लो पटक केही मजदुरबाट तेल चोरी भएको कुरा कम्पनीले फेला पारेपछि घटना प्रशासनसम्मै पुग्यो । तेल चोरी गर्ने एक जना फेला परेपछि घटनामा ८ जना मुछिए ।
चोरी गर्ने कामदारलाई निलम्बन गर्न प्रशासनलेसमेत अनुमति दिएपछि उनीहरुले नै अबरोध खडा गरेको चिनियाँ कम्पनीको आरोप छ ।
वार्तामा बोलाएर मजदुरमाथि कुटपिट
तेल चोरीको घटनाले निम्तिएको बिबाद मिलाउन भन्दै कम्पनीले बुधबार मजदुरहरुलाई कम्पनीको देवचुली १६ रजहरस्थित कार्यालयमा बोलाइयो ।
वार्ताका लागि बोलाएर छलफल हुँदै गर्दा बुधबार दिउँसो पौने २ बजेतिर एक्कासी चिनियाँ पक्षले मजदुरमाथि कुटपिट गरेको मजदुर नेता गैरेले बताए ।
ठूलो संख्यामा बाहिरबाट पनि ल्याएका चिनियाँहरुले हात हातमा फलामको डण्डी लिएको घटनाका प्रत्यक्षदर्शी स्थानीय हरीप्रसाद गौतमले बताए । तनाव भइरहेकै बेला आइपुगेका कम्पनीका समन्वयकर्ता भूमिनन्द ढकालको गाडी मजदुरहरुले गेट बाहिरै रोकेका थिए ।
घटनापछि चिनियाँ पक्षले र मजदुर पक्षले जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै उजुरी दिएका छन् । चिनियाँ पक्षले आफूहरुमाथि आक्रमण गरेकाले असुरक्षित भएको भन्दै उजुरी दिएका छन् । विहीबार मजदुरहरुले पनि आफूहरुमाथि आक्रमण भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
दुवै पक्षबाट उजुरी परेकाले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
बुटवल–नारायणघाट सडकअन्तर्गत पहिलो खण्ड गैँडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी गरी १ सय १३ किलोमिटर ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।
गएको वर्षापछि दाउन्ने क्षेत्रमा सडक पूरै भत्किएर जिर्ण बनेको हुँदा पनि काम नभएको भन्दै कम्पनीको आलोचना हुँदै आएको छ । धुलाम्मे बनेको दाउन्ने क्षेत्रमा आगामी ४० दिन भित्रै काम सम्पन्न गर्नका लागि कम्पनीले सहमति गराएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी भट्टराईले बताइन् ।
https://www.youtube.com/watch?v=nTrGXrEWWlY
कूल लागत रु १५ अर्बमा साढे तीन वर्षमा यो सडक स्तरोन्नति गरिसक्ने सम्झौतामा उल्लेख छ । यो सडक सहरी क्षेत्रमा ६ लेन, जंगलमा ४ र दाउन्ने खण्डमा तीन लेनमा विस्तार हुनेछ ।

