बुटवल नारायणगढ सडक विस्तारः भोलिदेखि नियमित काम हुने
कम्पनी र मदजुरबीच सहमति
रामकुमार श्रेष्ठ –
नवलपरासी, १२ चैत्र । बुटवल नारायणगढ सडक खण्ड अन्तरगतको दाउन्ने गैडाकोट सडक विस्तार कार्य शुक्रबारबाट पुन सुचारु हुने भएको छ ।
विहीबार जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ प्रशासन र मजदुरबीच भएको छलफल पछि शुक्रबारबाट नियमित काम शुरु गर्ने सहमति भएको अखिल नेपाल टूेड युनियन महासंघका इकाइ अध्यक्ष बासुदेव गैरेले बताए ।
नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार तेल चोरीको घटनाका सम्बन्धमा अनुसन्धान गरी दोषी प्रमाणित भए दोषीलाई कामबाट निकाल्ने, घटनाको अनुसन्धान हुन्जेल आरोपितलाई पनि कार्यालयमा हाजिर हुन दिने र दोषी प्रमाणित नभए काममा फर्कन दिने सहमति भएको छ ।
त्यसैगरी अहिलेसम्म भएको आन्दोलन र विभिन्न चरणका घटनाका कारण दुई पक्षबीच देखिएको मतभेद तथा विभेदलाई सबैले विर्सने, बुधबारको कुटपिटको घटनामा मजदुरतर्फको क्षति भएको मोबाइलको क्षति कम्पनीले व्यहोर्ने सहमति भएको छ ।
त्यस्तै बुधबारको कुटपिटमा परी घाइते भएकाहरुको उपचार घाइते आफैले गर्ने, कुटपिटको भेला भएको कम्पनीको गाडी तोडफोडको क्षति कम्पनी आफैले बेहोर्न सहमति भएको छ ।
