टाइगर प्यालेस रिसोर्टमा अवैध क्यासिनो सञ्चालन, आम्दानी सिधै विदेशी बैंकमा




रुपन्देहीको तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टमा गैरकानुनी धन्दा भएको पाइएको छ । सो होटलले अवैधरुपमा क्यासिनो सञ्चालन गर्ने गरेको छ । उक्त रिसोर्टले आफ्ना ग्राहकको डाटाबेसको दुरुपयोग गरेर अनलाइनमार्फत् गेमिङ खेलाउने गरेको स्रोतको दाबी छ । एक साताअघि अर्थात् २० मार्च तारिखका दिन सो रिसोर्टले आफ्ना डाटाबेसमा रहेका ग्राहकसँग अनलाइन क्यासिनो सञ्चालन गरेको फोटो बाहिर आएको थियो । स्रोत भन्छ, ‘पहिले पनि यहाँ जुवा खेल्ने, खेलाउने काम हुन्थ्यो । अहिले ग्राहकको तथ्यांकलाई प्रयोग गरेर अनलाइन क्यासिनो सञ्चालन भइरहेको छ, होटलले ग्राहकलाई एप्सको लिङ्क पठाउँछ र ग्राहकले त्यही एप्समार्फत जुवा खेल्छन् ।’

त्यसरी जुवा खेलाएर आएको पैसा सो रिसोर्टले विदेशी खातामा सीधै जम्मा गर्ने गरेको समेत स्रोतले दाबी गरेको छ । ‘यस्तो पैसा सिल्भर हेरिटेज इन्भेष्टमेन्टको विदेशी बैंक खातामा सीधै जम्मा हुन्छ,’ स्रोत भन्छ, ‘क्यासिनोको प्लेटफर्म यही रिसोर्ट हो । म्यानपावर र डाटाबेस पनि यहीँको हो । तर, विदेशी नागरिकहरूसँग जुवा खेलेपछि कारोबार ओभरसिज नै हुन्छ, नेपालमा केही हुँदैन ।’




कोभिड–१९ महामारीका कारण लामो समय बन्द भएको सो रिसोर्ट यही मार्च ६ तारिखदेखि खुलेको हो । तर, होटल बन्द रहँदाको समयमा पनि त्यसरी अवैधरुपमा क्यासिनो सञ्चालन हुने गरेको पाइएको हो ।


सम्बन्धित
Loading...