छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ
हाम्रो समाजमा यस्ता कलंकित पात्र पनि छन् जसले सुन्दा पनि शरीर नै जिरिङ्ग हुने खालका कुकर्म गर्न पछि पर्दैन । तिनै कुकर्मी पात्र मध्येका एक हुन बाग्लुङ्गका एक व्यक्ति ।जसको उमेर अन्दाजी ६५ वर्षको भयो, त्यही वृद्ध बाबुले भर्खर १३ वर्ष पुगेर १४ वर्ष उमेरमा पाईला टेकेकी नाबालिका छोरीलाई पटक–पटक बलात्कार गरी गर्भधारण गराएको खुलासा भएको छ ।
बाग्लुङ्गको व्यक्ति भए पनि उनी लामो समयदेखि गुल्मीको सदरमुकामभित्रको एक टोलमा धामी काम गर्दै आएका थिए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को बुढीचौर गाउँमा बस्दै आएका नाम गोप्य राखिएका अन्दाजी ६५ वर्र्षीय वृद्धले आफ्नै १४ वर्षीया छोरीलाई गर्भधारण गराएको शुक्रबार दिउँसो प्रहरीले खुलासा गरेको हो।
सदरमुकाम तम्घासबाट करिव १५ मिनेट पैदल हिंडेर पुगिने त्यस बुढीचौर गाउँमा आफ्नै बाबुद्वारा नाबालिका छोरी पटक–पटक बलात्कृत हुँदा पनि आफ्नै परिवार र छिमेकीबाट गुहार नपाएर बसेको यो घटनाले छोरीहरू कति असुरक्षित र दमित छन् भन्ने देखाउँछ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुर्षोत्तमप्रसाद पाण्डेले बालिकाकी आमाद्वारा जाहेरी बिहीबार परे पनि निज बाबु बाग्लुङ्ग पुगेका छन् भन्ने थाह पाएर त्यहाँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताए ।
उनले भने–‘प्रहरीलाई जाहेरी हिजो आएको हो, निज बाबु बाग्लुङ्ग पुगेका रहेछन् उनलाई बाग्लुङ्गबाटै नियन्त्रणमा लिई अहिले भर्खर म्याद थप गर्नका लागि जिल्ला अदालत पठाएका छौं ।’
डीएसपी पाण्डेले उमेर एकिन भई नसके पनि बालिकाका आमाका अनुसार बाबुको उमेर अन्दाजी ६५ वर्ष रहेको पाइए पनि कागजपत्र हेरेपछि एकिन हुने बताउँदै पटक–पटक छोरीलाई बलात्कार गरेर अन्दाजी २० हप्ताको छोरीको पेटमा गर्भ रहेको बताए ।
छिमेकीका अनुसार भर्खर १३ पुगेर १४ वर्षको उमेरमा पाईला टेकेकी नाबालिका छोरीलाई बाबुले कुट्ने मार्ने धम्की दिँदै आएका थिए । ती बालिकाकी आमाले जाहेर दिएपछि निजलाई पक्राउ गरिएको हो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले ती व्यक्ति विगत १५÷ १६ वर्षदेखि बाग्लुङ्गको निसीखोला गाउँपालिका वडा नम्बर ६ बाट आएर बुढीचौरमा धामी काम गर्दै बसेका थिए ।
वडाध्यक्ष भलामी भन्छन–‘परिवारलाई छोरीलाई गर्भधारण गराएको कुरा बाहिर ल्याए कुट्ने मार्ने धम्की दिँदै निकै दमन गरेर राखेका रहेछन् । कक्षा ६ मा पढ्ने उनका बारेमा विद्यालयले यो कुरा बाहिर ल्याएपछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’