कोरोना संक्रमित र मुटुका बिरामी उच्च जोखिममा
सुक्खा याम र देशका विभिन्न स्थानमा लागेको डढेलो, हावाको बहाव कम चल्नु, बढ्दो यातायातको चाप तथा धुलोका कारण उपत्यकाको प्रदूषणले खतराको तह पार गरेको हो ।
प्रदूषणका कारण आकाशमा तुवाँलो लागेको छ । वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको थियो ।
शनिबार दिउँसोसम्म भने घटेर २०२ एक्युआई पुगेको छ । यसैगरी दरबारमार्गमा शनिबार दिउँसोसम्मको प्रदूषण ३६७ एक्युआई र झम्सीखेलमा २७८ एक्युआई रहेको छ ।
० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रिन सिंगलले चिनिन्छ । ५१ देखि १ सयसम्मको एक्युआईलाई होसियार अथवा पहेंलो संकतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अस्वथ्य मानिन्छ, जसमा श्वासप्रसास र मुटुका बिरामीलाई असर गर्छ । १५१ देखि २०० सम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । यसले मुटुको बिरामी र कोभिड लागिसकेका बिरामीलाई बढी असर गर्ने चिकित्सक बताउँछन् ।
२०१ देखि ३०० सयलाई धेरै अस्वथयको रुपमा लिइन्छ र ३०१ देखि ४ सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरनाक मानिन्छ । शुक्रबार उपत्यकामा प्रदूषणको मात्रा धेरै खतरनाक तहमा थियो ।
वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले शुक्रबार साँझदेखि बढेको प्रदूषण शनिबारदेखि सुधार हुँदै गइरहेको बताए ।
प्राकृतिक विपत व्यवस्थापनका विज्ञ डा. धर्मराज उप्रेतीले सोमबारदेखि हावाहुरीका साथ असिना पानी आउने भएकाले प्रदूषणको मात्रा कम हुने बताए । “अहिले मौसमका कारण पनि प्रदूषणको मात्रा बढिरहेको छ । हावा नचल्दा उपत्यकाको प्रदूषण यही थुप्रिएको छ,” उनले भने, “सोमबारदेखि भने प्रदूषणको मात्रा कम हुने छ ।”
प्रदूषण बढेको समयमा मुटु, श्वासप्र्रश्वास र कोभिड भइसकेका बिरामीले उच्च सतर्कता अपनाउनुपर्ने बताउँछन् मुटु रोग विशेषज्ञ डा. खेम कार्की ।
“कोभिडको बिरामीको फेक्सोमा असर गरिरहेको हुन्छ । प्रदूषणले पनि फोक्सोमा असर पु¥याउने हो । कोभिडको बिरामीदेखि छातिका बिरामीले उच्च सतर्कता अपनाउनै पर्छ,” उनले भने, “यस्तो बेलामा सकेसम्म घर बाहिर ननिस्कनु, निस्कनु परे पनि एन नाइन्टी फाइभ मास्क लगाएर निस्कँदा राम्रो हुन्छ ।”