मौसम परिवर्तनको असर : भाइरल ज्वरोका बिरामी बढ्दो
पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।
केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिए । उनले भने, ‘मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ ।’
मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने, ‘मौसममा परिवर्तन आएको छ, धुलोधुवाँले गर्दा, पहिलाको तुलनामा आजभोलि बिरामीको सङ्ख्या बढेका छन् ।’
यस्तै, जिल्लाको तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक एक सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । उनले भने, ‘उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।’
मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव छन् । भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा जोशीले बताए ।
मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा जोशीको भनाइ छ । सामान्य समयभन्दा बिरामीको सङ्ख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या भने कम रहेको उनले भने ।
जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ । रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस सङ्क्रमणको आशङ्का भए आइसोलेशनमा राख्ने गरिएको छ । हालसम्म यस्ता बिरामी नआएको अस्पतालले बताए ।
