चितवनमा बजार अनुगमन : खाद्यका ४५ नमुनामध्ये दुई मुद्दा दर्ता
भरतपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले चालू आर्थिक वर्ष ०७७/७८ को दोस्रो चौमासिकसम्म खाद्यका ४५ वटा नमुना सङ्कलन गरेको छ । यस अवधिमा ४८ पटक खाद्य बजार, १० पटक दाना बजार र ४० पटक होटल तथा रेस्टुरेन्ट अनुगमन गरी ४५ वटा नमुना सङ्कलन गरिएको हो ।
४५ वटा नमुनामध्ये २९ वटाको रिपोर्ट अझै नआएको खाद्य प्रविधिले जनाएको छ । रिपोर्ट प्राप्त भएका १६ वटा नमुनामध्ये दुईवटा नमुना न्यून गुणस्तरको पाइएपछि जिल्ला प्रशासनमा मुद्दा दर्ता गरिएको छ । न्यून गुणस्तरका अरु तीनवटा नमुनाविरूद्ध मुद्दा दर्ता गर्न बाहिरी जिल्ला पठाइएको छ ।
११ वटा नमुनामाथि थप अनुसन्धान भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले बताए । ‘न्यून गुणस्तरका खाद्यवस्तु उत्पादन गर्ने उद्योग अन्य जिल्लाहरुमा रहेकाले त्यस्ता नमुना सम्बन्धित जिल्लामा नै पठाइएको हो’, उनले भने, ‘यहाँ दुईवटामात्रै मुद्दा दर्ता भएका छन्, ११ वटामाथि थप अनुसन्धान गरिरहेका छौँ ।’
लेबल नराखी भेनेगर उत्पादन गर्ने रत्ननगर–३ स्थित आचार्य फुड्स उद्योगविरूद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरिएको छ । त्यस्तै, कुखुराका लागि दूषित दाना उत्पादन गर्ने भरतपुर–२१ स्थित आरआर फार्म प्रालिविरूद्ध पनि प्रशासनमा मुद्दा दर्ता गरिएको उनले बताए ।
