खाल्डोको बेवास्ताले गम्भीर दुर्घटना : ठेकेदार सडक बनाउन तयार
भरतपुर । गत शनिबार भरतपुर–२२ मा भएको बस र स्कुटर दुर्घटनाको मुख्य कारणमा साँघुरो सडक भएको स्थानीयको भनाइ छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यस सडकमा ४ फिट गहिरो सडक खनेर ठेकेदारले छाडेको पाइएको छ । घटनामा एक पुरूष र २ किशोरीको ज्यान गएको थियो ।
‘खाल्डो खनेपछि यो सडकमा अरु काम केही भएको देखिँदैन’, भरतपुर महानगर वडा नं–२२ का अध्यक्ष विष्णुराज महतोले भने, ‘निर्माण पक्षले किन किन आलटाल गर्दै आएको छ ।’ केही समयअघिसम्म कच्चा सामग्रीको अभाव भयो भनी काम रोकेकोमा हाल सामग्री उपलब्ध हुँदा पनि निर्माण नगरिनु निर्माण पक्षको कमजोरी भएको वडा अध्यक्ष महतोले बताए । त्यस सडकखण्डमा काम गरेका ठेकेदारसँग स्थानीयले आइतबार सहमति गरेका छन् । तत्काल काम अघि बढाउने भनी सहमति भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले सडक पनि त्यस दुर्घटनाको एउटा कारण रहेको बताए । जिल्लामा पछिल्लो समय ज्यानै जानेसम्मको साना सवारी बढी दुर्घटना हुने गरेको प्रनि भट्टको भनाइ छ ।
‘सडक निर्माणकर्ताको चरम लापर्बाहीकै कारण यो दुर्घटना भएको हो’, मृतकका आफन्त दीपक दवाडीले भने, ‘हामीले जेजति क्षति व्यहो¥यौँ अब कसैले पनि त्यस्तो घटना व्यहोर्न नपरोस् भन्ने हिसाबले छलफल भइरहेको छ ।’ उनले दुर्घटनाको कारक सडक नै भएका कारण वडा, महानगर, ठेकेदार र सडक कार्यालय सबैलाई विपक्षी बनाएर प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
हाल यो सडक शिवशक्ति र एमएस लामा जेभीले निर्माण जिम्मा लिएको छ । हुलाकी राजमार्गको भरतपुर–ठोरीअन्तर्गत यो गीतानगर–पकौडी खण्ड हो । धनौजी–पकौडी बजार व्यवस्थापन समितिका अध्यक्ष अपिल घिमिरेले सडकमा काम सुरू गरेजस्तो गर्ने र ठेकेदार हराउने गर्दा सडकको दुरवस्था भएको बताए ।
