अझै नियन्त्रणमा आएन डढेलो
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले लुम्बिनी प्रदेशका नवलपुर, पाल्पालगायतका जिल्ला डढेलोबाट बढी प्रभावित छन् ।
नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाको विभिन्न जंगलमा आगलागी बढेको हो । तथ्यांकअनुसार लुम्बिनी प्रदेशभर १५ हजार हेक्टरभन्दा बढी वनमा डढेलो लागेको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको तथ्याङ्कअनुसार हालसम्म प्रदेशको १५ हजार ३ सय ४९ हेक्टर वनमा डढेलो लागेको छ । पूर्वी नवलपरासीमा पछिल्लो १० दिनयताको डढेलोले झण्डै १० प्रतिशत वन सखाप भएको छ ।
पाल्पामा ६४ वटा सामुदायिक जंगलमा आगलागी भएको छ । आगलागीबाट ६४ वटा सामुदायिक वनको १ हजार ५ सय १० हेक्टर जमिनको घाँसपात, दाउरा, काठपात जलेर नष्ट भएको छ ।
दैनिक दुईदेखि तीन सय हेक्टर जमिनमा आगलागी हँुदै आएको डिभिजन वन कार्यालयका प्रमुख डा. मोहन पौडेलले बताए । आगलागीबाट क्षतिको विवरण संकलन भइरहेको डिभिजन प्रमुख पौडेलले बताए ।
पाल्पाको १० वटा पालिकामध्ये सबैभन्दा बढी आगलागी रिब्दीकोट गाउँपालिका भित्र रहेको छ । जसमा ४ वटा सामुदायिक वनको ५ सय २९ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।यसैगरी डिभिजन वन कार्यालय नवलपुरको तथ्यांकअनुसार यहाँ रहेको झण्डै ७५÷७६ हजार हेक्टर वन क्षेत्र मध्ये ५ हजार १ सय बढी हेक्टर वन डढेलोले खाइसकेको छ । यो करिब ५ दिन अगाडिको तथ्यांक हो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार नवलपुरमा एक्कै दिन ४५ स्थानसम्ममा डढेलो लागेको थियो । डढेलो लाग्ने क्रम पछिल्लो दुई दिनयता केही कमी भए पनि डढेलो लागेको वनको क्षेत्रफल भने मोटामोटी ७ देखि ८ हजार हेक्टर बढी पुगेको अनुमान नवलपुरमा छ ।
काफ्लेका अनुसार नवलपुरमा ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको तथ्यांकले देखाएको छ । त्यसो त यस बर्ष मौसम सुख्खा हुनु, बेलैमा जंगल सरसफाइ गर्न नपाउनु आदि कारणले पनि जंगलमा यस वर्ष बढी डढेलो लागेको नवलपुरका डिभिजनल वन अधिकृत काफ्लेले बताए ।
नवलपुरका पहाडी क्षेत्रदेखि नारायणी नदीसँग जोडिएको निकुञ्ज आसपासको क्षेत्रमा पनि अहिले डढेलो लागेको छ । डढेलोकै कारण वातावरण प्रदुषित भए पनि नेपाल सरकारले ४ दिनका लागि शैक्षिक संस्था बन्द गरेको थियो ।
डढेलोको धुवाँले फोक्सोमा समस्या भएका तथा दमका रोगीहरूलाई श्वासप्रश्वासमा समस्या हुने र केटाकेटी तथा जेष्ठनागरिक यसबाट बढी प्रभावित हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।
त्यसैगरी धुवाँको एलर्जीले आँखा पोल्ने, आँखा चिलाउने, रातो हुने जस्ता समस्याहरू आउन सक्ने उनले बताए । सरकारले डढेलो नियन्त्रणका लागि वर्षेनी अर्बौ रुपैयाँ खर्च गर्ने गरे पनि त्यसको प्रभावकारिता यस वर्ष खासै देखिएको छैन ।
जिल्लाका विभिन्न स्थानमा लागेको डढेको र वनका उपभोक्ता, सशस्त्र प्रहरी र वनका कर्मचारीले नियन्त्रण प्रयास गरिरहेका छन् ।
मध्यविन्दु नगरपालिकाको चोरमारा र डन्डाबीचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको उनको भनाइ छ सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गर्नुका साथै विभिन्न चेतनामूलक कार्यक्रम तथा गोष्ठी गरेको उनले बताए र पनि वनमा आगो देखिनु उपभोक्ताको चरम असन्तुष्टि रहेको हुन सक्ने आँकलन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेका अनुसार समयमै दाउराका लागि वन नखोल्दाका कारण उपभोक्तामा सामुदायिक वन प्रतिको माया घटेका कारण यस्तो भएको हो । तथापि सरकारले बेलैमा दाउरा खोल्दिएन भनेकै भरमा वनमा सरसफाइ नगर्नु भने दुःखद भएको उनले बताए ।
ठाकुर पाण्डेका अनुसार सरकारले यस वर्ष सचेतनाको कार्यक्रम कम गरेकै कारण पनि यस्तो भएको हो ।