राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयलाई ५ अर्ब अनुदान
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्र्तगत ४ हजार २५० विद्यालयले भौतिक निर्माण, सूचना प्रविधि र अन्य क्षेत्रको पूर्वाधार निर्माण गर्न ५ अर्ब ६ करोड रुपैयाँ अनुदान पाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार अनुदान वितरण सम्बन्धि प्रतिवेदन बुझाउँदै प्रत्येक विद्यालयलाई ६ लाख ५० हजारदेखि १ करोड रुपैयाँसम्म अनुदान पाएको जनाएको छ । आवेदन परेका ६ हजार ९ सय २१ विद्यालयमध्ये छनौटमा परेका ४ हजार २५० विद्यालयले सो अनुदान पाएका छन ।
शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले अनुदान कार्यक्रममा भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधाका विस्तार गर्न खर्च गरिने बताए ।
यसैगरी पठनपाठनलाई प्रविधिमैत्री बनाउन सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधिलगायत प्राथमिकताको आधारमा बजेट विनियोजना गरिएको जानकारीको मन्त्रालयले जनाएको छ ।
६ हजार ९२१ विद्यालयहरूबाट कुल १४ अर्व ३५ करोड १९ लाख बराबरको विभिन्न कार्यक्रमहरुको लागि आवेदन प्राप्त भएको थियो । तर मन्त्रालयले ५ अर्बको बजेट अनुसार ४ हजार २ सय ५० विद्यालयलाई छनौट गरेको छ ।