५० प्रतिशत अनुदानमा देवचुलीका मौरीपालक किसानलाई सामग्री वितरण

276












कृशला सापकोटा –

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई ३५ जना मौरीपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको छ ।


आइतबार देवचुली नगरपालिका ९ विशालटारमा कृषि ज्ञान केन्द्र नवलपुरको ५० प्रतिशत अनुदान कार्यक्रम अन्तरगत यहाँका ३५ घर किसानलाई मौरी घार, मौरी गोला लगायतका आधुनिक मौरी पालनका लागि आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

देवचुली नगरपालिका भित्र यस अघि ५ सय घार माहुरी रहेकोमा यस बर्ष पकेट क्षेत्रको रुपमा विस्तार गर्न १ हजार घार माहुरी पुराउनका लागि सहयोग गरिएको थियो ।

गत बर्षदेखि मौरीपालन गर्दै आएका किसानहरुका लागि यस बर्ष ५० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराइएको स्थानीय किसान एवम् मौरी पालक ब्लक उपसमितिका संयोजक यदुनाथ कंडेलले बताए । किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु अघि आइतबारसम्म गरी पाँच दिने व्यावसायिक मौरी उत्पादन सम्बन्धि तालिम प्रदान गरिएको थियो ।

तालिमको आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष मेखबहादुर सारु मगर, कृषि ज्ञान केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत मीरा चौधरी लगायतले कृषि क्षेत्रको महत्वको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम कृषक भुपति रानाभाटको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन बृद्धिसागर भुसालले गरेका थिए ।

 



You might also like
Loading...