व्यवसायी सावरमल अग्रवालको ठगी धन्दाको पर्दाफास





छड तथा डण्डीको तौलमा गडबढी गर्दै उपभोक्ता ठगी गरेको आरोपमा राजेश हार्डवयरको बालाजु शाखा प्रमुख कमल शर्मा शुक्रबार पक्राउ परे। बिलमा वास्तविक तौलको मूल्य जनाई वस्तुको तौल भने वास्तविकभन्दा कम देखिएपछि उपभोक्ता ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

कम तौलको डण्डी बिक्री गरी बिलमा बढी मूल्य जनाई ठगी गरेको भन्दै उपभोक्ताहरुले उजुरी आएपछि ग्रिल तथा स्टिल व्यवसायी संघको अगुवाईमा उपभोक्ता अधिकार मञ्च लगायतले राजेश हार्डवयरको उक्त शाखामा छापा हानेको थियो। उक्त टोलीले त्यस शाखाबाट बिक्री भइसकेका छड तथा डण्डीको तौल लिएको थियो।




राजेश हार्डवयरको बालाजु शाखाको विषयमा उपभोक्ताको उजुरी परेपछि अनुगमनमा जाँदा उक्त शाखाले फटाइ गरेको पुष्टि भएको संघका अध्यक्ष मोहन कटवालले बताए।

‘उपभोक्ताको गुनासो आएपछि हामी वास्तविकता बुझ्न फिल्डमै खटियौँ। खरिद बिक्री गरेको छड तथा डण्डीको तौलमा उपभोक्ताले गुनासो गरेअनुसारको पाइएपछि शाखा प्रमुखलाई नजिकैको प्रहरीमा जिम्मा लगायौं,’ उनले भने।

दफाल ३९ को उपदफा १ को (ख) बमोजिम तत्काल जरिवाना गरिने व्यवस्थाअनुसार शाखालाई तीन लाख रुपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता सेढाईले बताए।

घर निर्माण गर्ने सिजनमा हार्डवयरबाट भएको यस्तो घटनाले दु:खित बनाएको उनले बताए। राज्यलाई कर तिरेर प्रतिष्ठा कमाएको कम्पनीबाट ठगी गर्लान् भने कल्पना नगरेको उनले सुनाए।

बिलमा १०० किलो लेखिएको सामान जोख्दा ९० किलो मात्र भएको। तस्तै ९८ किलो भनिएको वस्तुको तौल ७८ देखि ८१ किलोमात्र भएपछि कारबाही अगाडि बढाएको उनले बताए।

‘हामीले अनुगमन गर्दा ७ देखि १० केजीसम्म तौल फरक परेको देखियो। त्यसकारण हामीले कारबाही अगाडी बढाएका हौँ। प्रतिष्ठित कम्पनीले यस्तो कार्य गर्लान् भन्ने कल्पना गरेका थिएनौँ,’ उनले भने।

प्रतिष्ठित कम्पनीबाट यस्तो किसिमको फटाई स्वीकार्य नभएको भन्दै उपभोक्तामाथि हुने यस्तो ठगीको विषयमा कुनै पनि सम्झौता नहुने उनले बताए।

शाखा प्रमुख शर्मालाई शुक्रबारै महानगरीय प्रहरी वृत्त बालाजुको जिम्मा लगाइएको थियो। तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने उनलाई कम्पनीको जिम्मा जमानीमा तारेखमा छोडेको छ।

विभागले हार्डवेयरको शाखा सिलबन्दी गरेको छ। उक्त शाखाबाट सम्पूर्ण कागजात मगाएर अनुसन्धान गरिरहेको विभागका प्रवक्ता शिव सेढाईले बताए।

‘शाखाको आधिकारिकता, खरिद बिक्रीजस्ता कम्पनीको सम्पूर्ण कागजात माग गरिएको छ। उपभोक्ता ठगिएको विषयमा कम्पनीमाथि सुक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न वा गराउन हुँदैन भनिएको छ। सोही दफाको उपदफा २ (क) मा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्नेलाई दफा ३९ बमोजिम जरिवाना हुने ऐनमा स्पष्ट व्यवस्था गरेको छ।

दफाल ३९ को उपदफा १ को (ख) बमोजिम तत्काल जरिवाना गरिने व्यवस्थाअनुसार शाखालाई तीन लाख रुपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता सेढाईले बताए।

अनुसन्धान जारी रहेकला अनुसन्धानबाट खुल्दै जाने भएकाले कम्पनीविरुद्ध अन्य जरिवाना हुने विभागले जनाएको छ।

व्यवसायी सावरमल अग्रवालको राजेश हार्डवेयरका नेपालभरि १८ वटा बिक्री केन्द्र छन्। तीमध्ये एक बालाजु शाखाबाट गरिने तौल ठगीबाट सबभन्दा पीडित साना ग्रिल तथा स्टिल्स व्यवसायीहरू थिए।

उक्त शाखामा ग्राहकले सामान किन्दा बाहिर सडकमा तौल गरेर भित्र अर्का कर्मचारीलाई चिट पठाइन्छ। उनले बिक्रीको विवरण रजिष्टरमा दर्ता गरेर बिल बनाउन नयाँ चिर्कटो कम्प्युटरमा पठाउँछन्। सामानको परिमाण र बिलमा फरक पार्ने हर्कत त्यही क्रममा गरेको पाइएको ठगिएका ग्रिल व्यवसायीहरू बताउँछन्। यसरी उक्त शाखाले उपभोक्तामाथि शृंखलाबद्ध ठगी गरेको भन्दै उजुरी परेको थियो। https://nepalnews.com/s/business/2021-04-05-160251




सम्बन्धित
Loading...