सोमबारदेखि मनकामना केबलकार सञ्‍चालनमा आउने


मनकामना केबलकार सोमबारदेखि पुनः सञ्‍चालनमा आउने भएको छ। मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्‍चालनमा आउन लागेको हो।




यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समयमै सकिएकाले भोलि सोमबारदेखि पुन सुरू हुने भएको हो।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न भएकोले चैत ३० गते सोमबारबाटै सञ्‍चालनमा आउने जानकारी दिएको हो।




चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए। ६ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्‍न भएकोले सञ्‍चालनमा ल्याउन लागिएको सञ्‍चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गरिएको थियो।

२३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मंसिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।

पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरियो भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ।

अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने सञ्चालक श्रेष्ठले बताए।




सम्बन्धित
Loading...