मुआब्जा दिन नसक्दा कालीगण्डकी करिडोर निर्माणको काममा ढिलाई

नवलपुर । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैंडाकोटदेखि पाल्पाको राम्दी खण्डका प्रभावितले मुआब्जा पाउन सकेका छैनन् ।
२ सय २० घरको मुआब्जा दिन नसक्दा कालीगण्डकी करिडोर निर्माणको काममा ढिलाइ भएको छ । मुआब्जा दिनुपर्ने फाइल दुई महिनादेखि केन्द्रीय मन्त्रिपरिषदमा रोकिँदा निर्माण कार्य अघि बढ्न नसकेको हो ।
कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट–राम्दी–मालढुंगा सडक योजनाका प्रमुख इन्जिनियर सुबोधकुमार देवकोटाका अनुसार घरटहरा सारेर, रूख कटान गरेर मात्र सडक निर्माण सुरु गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या थपिएको हो । ‘निर्माण सुरु हुनुअघि नै सक्नु पर्ने काम थाती राखेर योजना अघि बढाइएका कारण कामले गति लिन नसकेको जनाईएको छ ।
मुआब्जाका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्छ । त्यसपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा वितरण गर्ने व्यवस्था छ । अहिले उक्त खण्डको रूख कटानसम्बन्धी फाइल पनि वन मन्त्रालयमा गएर रोकिएको छ ।
करिडोरको गैंडाकोट–मालढुंगा खण्ड २ सय ९७ किलोमिटर छ । सो सडक खण्डको निर्माण कार्य भारतीय कम्पनी इकेके प्रालिले गरिरहेको छ । साढे ५ अर्ब रुपैयाँमा ठेक्का लिएको सो सडक खण्ड २०७९ असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।