‘चितवन कोरोनाबाट अतिप्रभावित’


भरतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनलाई पनि कोरोनाबाट अतिप्रभावित हुने जिल्लामा वर्गीकरण गरेको छ । मन्त्रालयले चितवनसहित १४ वटा जिल्लालाई कोरोनाबाट अतिप्रभावित जिल्लाभित्र राखेको हो ।

मन्त्रालयका अनुसार चितवनसँग जोडिएको अन्य जिल्ला नवलपुर, मकवानपुर, धादिङ अतिप्रभावित जिल्लामा परेका छैनन् । चितवनको माडीसँग जोडिएको पर्सा जिल्ला कोरोनाको अतिप्रभावित जिल्लाभित्र परेको छ । मन्त्रालयले जारी गरेको सूचनामा काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, बाँके, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरिएको छ ।

अतिप्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा भीडभाड हुने कुनै पनि कार्यक्रमहरु नगर्न अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि नै सूचना जारी गरी भीडभाड हुने सम्पूर्ण गतिविधिमा रोक लगाएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा अतिप्रभावित हुने जिल्लाहरुमा सम्बन्धित निकायले बढी सचेतना अपनाउनसमेत अपिल गरेको छ ।

यी जिल्लाहरुमा रात्रि व्यवसायहरु ७ बजेपछि बन्द गर्न, पूजाआजा तथा जात्राहरुमा सहभागी नहुन, सभा–सम्मेलन, बैठक तथा भेलाहरुमा नजान, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागी नहुन स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।

स्वास्थ्य कार्यालय चितवनले मन्त्रालयले यस जिल्लालाई पनि कोरोनाबाट अतिप्रभावित जिल्लामा राखेको हुनाले बढी सजग हुनुपर्ने बताए । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले भने, ‘अतिप्रभावित हुने जिल्लामा चितवन पनि परेको छ, अब बढी सजग हुनुपर्ने बेला आयो, यसलाई कोरोनाको दोस्रो लहर सुरू भएको भन्न सकिन्छ ।’

चितवनमा फागुनमा भन्दा चैत महिनामा कोरोना भाइरसबाट सङ्क्रमित हुने संख्या बढेको उनले बताए । उनले भने, ‘फागुनमा नयाँ कोरोना सङ्क्रमित ९६ जना थिए भने चैतमा ११५ जना पुगे, बढ्ने क्रम हुनाले सचेत नभए विकराल अवस्था आउन सक्छ ।’

उनले चितवनमा कोरोना जाँचको क्रम बढेको बताए । नयाँ युके भेरियन्टको शंकास्पद बिरामीसमेत चितवनमा हालसम्म नभेटिएको उनी बताउँछन् । उनले भने, ‘युके भेरियन्टको शंकास्पद बिरामी अहिलेसम्म भेटिएको छैन, तर हामीसँग भएको स्रोतसाधनले युके भेरियन्ट नै हो भन्ने पत्ता लगाउँछ या लगाउँदैन भन्ने कुरामा पनि शङ्का नै देखिन्छ ।’

उनले जिल्लामा युके भेरियन्टको बिरामीको शङ्का लाग्नासाथ थप परीक्षणका लागि काठमाडौँ पठाउने बताए । स्वास्थ्य कार्यालयले विद्यालय, यातायात, उद्योगी व्यवसायीहरु माझ पुगेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको उनले जानकारी दिए ।








सम्बन्धित
Loading...