रुपन्देहीमा एक सातामै तीन गुणा बढे सक्रिय संक्रमित




भैरहवा- रुपन्देहीमा कोभिड–१९ का सक्रिय संक्रमित तीन गुणा बढेको छ। चैत्रको अन्तिम साता ८६ जना सक्रिय संक्रमित रहेको रुपन्देहीमा बैशाखको पहिलो साता नसकिदै बढेर २५६ जनामा पुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार कोभिड–१९का सक्रिय संक्रमितको संख्या लगातार पछिल्लो तीन साता देखि बढ्दै गएको छ। चैत्रको दोस्रो साता ३७ जनामा रहेको संक्रमण तेस्रो साता ४२ र अन्तिम साता ८६ पुगेको हो।

२५६ संक्रमित मध्ये ४० वर्ष मुनिका मात्रै ५२ प्रतिशत बढि अर्थात १३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए । त्यस्तै ७० वर्ष माथिका ६ जना, ४० वर्ष देखि ७० वर्ष उमेर समूहका ११५ जना रहेका छन । स्थिर रहेको संक्रमण भारतमा तिव्र गतिमा बढेसँगै नेपालमा पनि बृद्धि भएको हो।




पहिला वयक्स र बृद्धहरुमा देखिएको संक्रमण अहिले तल्लो उमेर समूहमा बढि देखिएको छ । रुपन्देहीको हकमा अहिले २० वर्ष मुनिका १८ जना संक्रमित रहेको प्रमुख गिरीले बताए। ‘नयाँ भेरियन्ट हो वा पुरानै हो भन्ने अवस्था छैन तर तल्लो उमेर समूहमा संक्रमण बढेको देखिएको छ, यसलाई सहज रुपमा लिनु हुदैन जोखिम कायमै छ’ गिरीले भने।

शनिबार मात्रै रुपन्देहीमा १३ महिला र २१ पुरुष गरी ३४ जनामा संक्रमण पुष्टि भएको छ, थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ९ हजार ४ सय १४ पुगेको छ । त्यस्तै १५७ जनाको मृत्यु भएको छ भने विभिन्न क्षेत्रबाट ९ हजार १ जना निको भएर फर्किसकेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।



सम्बन्धित
Loading...