बुटवलमा तयार हुँदै ढुवानीग्राम

बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानी ग्राम धमाधम निर्माण भएको छ। बुटवल उपमहानगरपालिकाले निजी क्षेत्र संगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रुपमा हेवी लोडका सवारीसाधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो । मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको र निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं.१२ ढवाहस्थित भैरहवा टोलमा तीन विगाह क्षेत्रफलमा करिब ३० करोड लागतमा ढुवानीग्राम निर्माणको काम भइरहेको छ। सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजना अनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारिएको थियो।
‘सहरमा ट्राफिक चाप बढाउने र अव्यवस्थित तवरले सञ्चालनमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाट हेवी लोडका गाडी अनलोड गराउनेगरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौं’ उपमहानगर प्रमुख सुवेदीले भने–‘निजी क्षेत्रको समेत साझेदारीमा सुरु भएको योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।’
वहुवर्षीय योजनाको रूपमा अगाडि सारेको अवधारणा अहिले साकार हुने अवस्थामा पुगेपछि उपमहानगर र यहाँका ढुवानी व्यवसायीहरु खुशी भएका छन्। सुवेदीले ब्यस्त र भिडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरपालिकाले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिवद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको बताए।