खाने तेलको मूल्यवृद्धि: भारत निकासीका कारण नेपालमा महँगो
कोरोना संकटले उपभोक्ताको क्रय शक्ति कमजोर भइरहेको बेला भान्सामा दैनिक उपभोग हुने खाने तेलको उच्च मूल्यवृद्धि भएको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपैयाँ पुनः बढेको छ । उच्च दरमा तेलको मूल्य बढेपछि उपभोक्ताको भान्सा झन् महँगिने भएको हो ।
यसरी महँगो भइरहेको बेलामा अनुगमन गर्ने सरकारी निकायले भने कुनै चासो दिएको छैन । बजारमा दुई रुपैयाँ बढाएको भनेर खुद्रा व्यवसायीलाई समात्ने सरकारले ठुला व्यापारीलाई भने साथ लिएको खुद्रा व्यवसायीहरूको आरोप छ ।
बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको मूल्य बिना कारण महँगो भएको बजारका व्यापारीहरू नै बताउँछन् । नेपाल खुद्रा व्यापार सघंका अनुसार पछिल्लो पटक सन फ्लावर, भटमास र तोरीको तेलको मूल्य लिटरमै १० देखि १५ रुपैयाँसम्म बढेको छ ।
संघले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सन फ्लावर तेलको मूल्य २५० रुपैयाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपैयाँसम्म पुगेको छ । त्यसै गरी तोरीको तेल पनि ब्रान्ड अनुसार १० देखि १५ रुपैयाँसम्म बढेको जनाएको छ ।
संघका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकासिएको बताए । कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकासिएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिना उपभोग्य वस्तुको बजार महँगी ३.०२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गएको सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार उपभोक्ता मुद्रा स्फूर्ति ३.०२ प्रतिशतले वृद्धि भएको पाइएको थियो ।
उता आम उपभोक्ताको गुनासो भने फरक छ । काठमाडौं सुके धारामा तेल किन्दै गरेकी सविता सुवेदीले भनिन्, भएको जागिर नि विश्व महामारी कोरोना भन्नेले गुम्यो । बजारको मुल्यभने बढेको बढ्यै छ । सबै हामी गरिबकै लागिहो कि आउने भनेर सरकार प्रति रिस पोख्दै भनिन् । यो तेलको मूल्य बढ्नु त उदाहरण मात्र हो, यस्तै भान्सा प्रयोग हुने हरेक सामग्रीको मूल्य बढेको छ । सानो परिवार नै पाल्न धौ धौ भयो अब त ।
त्यस्तै यता बानेश्वर कोठा भाडामा बस्दै आएका सुमन जोशीले भने घरमा बुवाले कृषिको काम गरेर जसो त्यसो पैसा पठाउनु हुन्छ । कोठा भाडा तिर्न त धौ धौ भइरहेको बेला बजारको मूल्य आकासिएको छ ।
आज तेल किन्न पसल आएको थिए एक लिटरकै २५० रुपैयाँभन्दा पसलेले ठग्यो कि भन्ने लाग्यो । उनी भन्छन्, सरकार आफै व्यवस्थित छैन बजारको भाउ के व्यवस्थित के गर्थ्यौ । बजारको मूल्य यसरी नै आकासिने हो भने दुर्गम क्षेत्रबाट पढ्नको लागि सहरमा आउने विद्यार्थीलाई एकदमै असजिलो हुने उनी बताउँछन् ।