चितवनको तरकारीमा अत्यधिक विषादीको प्रयोग

72












भरतपुर । गर्मी लागेसँगै चितवनमा उत्पादन भएका तरकारीहरुमा अत्यधिक विषादी भेटिन थालेको छ । गर्मीयाममा तरकारीहरुमा रोगकीराहरु बढी लाग्ने भएकाले यहाँका किसानहरुले जथाभावी विषादी प्रयोग गर्न थालेका छन् ।


गएको फागुनदेखि तरकारीहरुमा विषादीको प्रयोग बढेको पाइएको विषादी अवशेष दु्रत परीक्षण प्रयोगशालाले जनाएको छ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित भरतपुर महानगर तरकारी तथा फलफूल थोक बजारमा प्रयोगशाला रहेको छ ।

चैतमा विषादीको मात्रा अत्यधिक पाइएका तीन किसिमका तरकारीहरु नष्ट गरिएको प्रयोगशाला प्रमुख बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताइन् । चितवनमै उत्पादन भएको ब्रोकाउली, काँक्रो र सिमीमा अत्यधिक विषादीको मात्रा भेटिएको उनले बताइन् । भारतबाट आएको घिरौँलामा पनि अत्यधिक विषादी पाइएपछि नष्ट गरिएको उनको भनाइ छ ।

‘चितवनमा नै उत्पादन भएको दुई ठाउँको काँक्रो, ब्रोकाउली र सिमीमा बढी मात्रामा विषादी भेटियो’, उनले भनिन्, ‘त्यस्ता तरकारीहरुलाई बजारको समितिको जिम्मा लगाएर नष्ट गर्न लगायौँ । नष्ट गरेपछि उहाँहरुले त्यसको मुचुल्का ल्याएर दिनुहुन्छ ।’ अक्सन बजारमा किसान आफैँले बिक्री गर्न ल्याएको ब्रोकाउलीमा अत्यधिक विषादी भेटिएको उनले बताए

चितवनको मंगलपुर र ब्रह्मपुरमा उत्पादन भएको काँक्रो, रत्ननगरमा उत्पादन भएको ब्रोकाउली र भीमनगरमा उत्पादन भएको सिमीमा अत्यधिक विषादी पाइएको क्षेत्रीले जानकारी दिइन् । फागुनमा पनि अत्यधिक विषादी भेटिएको पाख्रिबासको टमाटर, राप्तीको भेँडे खुर्सानी र टमाटर नष्ट गरिएको थियो ।

तरकारीमा कार्बामेट्स र अर्गानोफस्फेट विषादीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । यस किसिमको विषादी किसानहरुले कीरा मार्नका लागि बढी प्रयोग गर्ने गर्छन् । तरकारीमा ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा तरकारीलाई केही दिन क्वारेन्टिन गरेर राख्नुपर्छ ।

कम्तीमा तीन दिनसम्म क्वारेन्टिन गरेर राखेको तरकारीमा विषादीको मात्रा पुनः परीक्षण गरिन्छ । ३५ प्रतिशतभन्दा कम पाइएमात्रै त्यस तरकारी उपभोग गर्न सकिने उनी बताउँछिन् । यदि तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएमा त्यस्तो तरकारी तुरून्तै नष्ट गरिने उनको भनाइ छ ।



You might also like
Loading...