कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ ।
कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
वैशाख १५ गते राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतःबन्द गरिने बैठकले निर्णय गरेकाले यस अवधिलाई अन्तिम मानिएको छ । यस अघि सो कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि गत चैत ३० गतेसम्म तोकिएको थियो ।
क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन भने वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्ने बैठकले निर्णय गरेको छ । सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टी कार्यालयले जनाएको छ ।
