काेराेनाकाे त्रास : २५ जना भन्दा बढी भेला हुन नपाइने




कञ्चनपुरका सार्वजनिकस्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुन नपाइने भएकाे छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि आज बुधबारदेखि लागू हुने गरी आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।

उनका अनुसार भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेकाले कञ्चनपुरसमेत उच्च जोखिममा रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नका लागि आग्रह गरिएको छ ।




“विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने छ”, उनले भने, “सिनेमा हल, पार्टीप्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।”

भीमदत्त नगरपालिकामा रहेका शैक्षिक संस्था वैशाख मसान्तसम्मका लागि भौतिकरूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाइ सञ्चालन गर्नुपर्ने छ । धार्मिक क्रियाकलाप तथा विवाहलगायतका कार्यमा २५ भन्दा बढी व्यक्ति उपस्थित नहुने, सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सवारी साधन दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।



सम्बन्धित
Loading...