भरतपुरबाहेक सबै पालिकामा चले विद्यालय

63












भरतपुर । चितवनको भरतपुर महानगरबाहेक अन्य ६ वटा पालिकामा भौतिकरुपमै विद्यालय सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढिरहेको भन्दै नेपाल सरकारले चितवनको भरतपुर महानगरका सबै विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरे पनि अन्य पालिकामा यथावत्रुपमा पढाइ सञ्चालन भएका छन् । विद्यालयहरुमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिएको उनको भनाइ छ ।


‘भरतपुर महानगरमा विद्यालयस्तरमै कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो, अन्य पालिकामा विद्यालयस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जानकारी छैन’, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले भने, ‘भरतपुर महानगरबाहेक चितवनका सबै पालिकामा भौतिकरुपमा स्कुल सञ्चालन गरी पठनपाठन गरिएको छ ।’

चितवनका अन्य पालिकाका विद्यालयहरु बन्द गर्ने विषयमा सरकारले केही बोलेको छैन । स्थानीय पालिकाहरुले विद्यालय बन्द नगर्न भनेपछि मंगलबार सबै विद्यालयहरुले पठनपाठन गरेका हुन् । भरतपुर महानगरभित्र रहेका विद्यालय तथा कलेजहरु मंगलबारदेखि नै बन्द भए ।

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिकाका सबै विद्यालयहरु नियमितरुपमा सञ्चालन भइरहेको बताए । उनले भने, ‘भोलि (आज बुधबार) प्राचार्यहरुको बैठक बोलाइएको छ, कुनै समस्या भए विद्यालय बन्द हुन सक्छ, नत्र नियमितरुपमा विद्यालय सञ्चालन हुनेछ ।’ उनले विद्यालयका विद्यार्थी, कर्मचारी तथा शिक्षकहरुमा कोरोना पोजेटिभ देखिएको कुनै सूचना नभएको बताए । उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको छ, हालसम्म कालिकाका विद्यालयमा सङ्क्रमणको जोखिम छैन ।’

राप्ती नगरप्रमुख प्रभा बरालले पनि राप्ती नगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय नभएको बताइन् । उनले भनिन्, ‘बन्द गर्ने निर्णय भएको छैन, विद्यालयमा कोरोना भाइरस प्रवेश गरेको सूचना पनि हालसम्म छैन ।’ कोरोनाको जोखिम बढिरहेको हुनाले चाँडोभन्दा चाँडो परीक्षा सकेर बाबुनानीहरु अभिभावकको हातमा बुझाएर विद्यालय बन्द गर्ने उनको भनाइ थियो ।



You might also like
Loading...