पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
पोखरामा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ की ५४ वर्षीया महिला र ३३ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । 
यही वैशाख ५ गते संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पताल भर्ना गरिएकी ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै वैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भएपछि संक्रामक रोग तथा सरुवा रोग अस्पताल पोखरामा भर्ना भएका ८४ वर्षीय वृद्धको समेत बुधबार मृत्यु भएको उनले बताए ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २११ पुगेको छ । विगत लामो समयदेखि कोरोना संक्तमण घट्दो क्रममा रहेको गण्डकी प्रदेशमा यतिबेला संक्रमण तीव्र रुपमा वृद्धि भएको छ ।
यो हप्ता शुरु भएपछि पोखरामा कोरोना संक्रमितको दैनिक रुपमा मृत्यु भएको छ ।