चितवनका सातै पालिकामा कोरोना पुनः सक्रिय

भरतपुर । सक्रिय सङ्क्रमितको संख्या बढेसँगै चितवनका सातवटै स्थानीय पालिकामा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । केही दिनअघिसम्म सङ्क्रमितको संख्या शून्य भएको माडी र इच्छाकामनामा पनि एक/एक जना सक्रिय सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
अन्य स्थानीय तहमा हेर्दा भरतपुरमा १८२, खैरहनी र राप्तीमा ९/९, रत्ननगरमा १३ र कालिका नगरपालिकामा ८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । सक्रिय सङ्क्रमितमध्ये भरतपुरका २९ र रत्ननगरका एक जनाबाहेक बाँकी सबै होम आइसोलेसनमा रहेको उनले बताइन् ।
‘अत्यावश्यक अवस्थामा मात्रै अस्पताल आउनू’
पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर अस्पतालले पुनः सामान्य अवस्थामा अस्पताल नआउन सार्वजनिक अपिल गरेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगन्नाथ तिवारीले बुधबार सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा मात्रै अस्पताल आउन आग्रह गरेका हुन् ।
‘साथै, अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड (मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम गर्ने) अनिवार्य पालना गरौँ, कोभिड सङ्क्रमण हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’, सूचनामा भनिएको छ । पछिल्लो समय सामान्य खालका सङ्क्रमितको तुलनामा गम्भीर खालका सङ्क्रमितको संख्या बढ्दै गएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर अस्पतालले सञ्चालन गरेको कोरोनालक्षित शøयाको सघन उपचार कक्ष (आइसियू) भरिइसकेको अस्पतालले बताए ।