माडी पुर्याइयो राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति
माडी । चितवनको माडी नगरपालिकाको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ ।

अयोध्याधाम व्यवस्थापन समितिले रामनवमीको अवसर पारेर बुधबार आयोजना गरेको कार्यक्रममा धार्मिक गुरूहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा त्यहाँ निर्माण गरिएको मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । त्रेतायुगमा यसै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोराका रुपमा रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी हस्तान्तरण गरेका मूर्तिहरु अयोध्याधाम पु¥याई त्यहाँ निर्माण गरिएको मन्दिरमा प्रतिस्थापन गरिएको हो । सो अवसरमा प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाईं, प्रदेश नं २ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो ।
बाजागाजा र भजनकीर्तनसहित मूर्ति प्रतिस्थापन गरिएको थियो । सो अवसरमा पण्डित सुदर्शन सुवेदीले विशेष पूजा गराएका थिए । क्रेनको सहयोगमा स्वयंसेवक र सुरक्षाकर्मीहरुले सो पूर्णकदका मूर्तिहरु स्थापित गरेका थिए । अहिले राखिएका मूर्तिहरु पछि राममन्दिर बनेपश्चात् त्यहाँ राखिने योजना रहेको छ ।
यसअघि मूर्तिसहितको शोभायात्रालाई माडीका स्थानीयले सडकका ठाउँठाउँमा स्वागतद्वार र घडा सजाएर स्वागत गरेका थिए भने विभिन्न चोकचोकमा भजनकीर्तन गरेका थिए । माडी नगरपालिका वडा नं–१, गोद्धकधामअन्तर्गतको त्रेता र द्वापर युगीन धार्मिक सम्पदाका रुपमा चर्चित रहेका गोद्धक क्षेत्रस्थित परशुराम कुण्डबाट पञ्च कुमारीमार्फत ल्याइएको पवित्र जलले राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरुलाई जलाभिषेक गरिएको थियो ।
कार्यक्रममा मन्त्री ढकालले धार्मिक पर्यटनका लागि यो कार्य मह¤वपूर्ण साबित हुने बताए । उनले राम नेपालकै पुत्र भएको बताउँदै भने, ‘धर्मशास्त्रमा पवित्र तीर्थस्थल देवघाटमा रामले स्नान गरेको उल्लेख छ ।’ राजनीतिक आग्रह र पूर्वाग्रहले नभई धर्मशास्त्रमा तथ्यले पुष्टि गरेका कारण राम माडीको अयोध्यापुरीमा नै जन्मिएको उनको दाबी थियो ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई मणि बनाउन केन्द्र र प्रदेश सरकार लागिपरेको बताए । उनले यस क्षेत्रको विकासका लागि कोही बाधक बन्न नहुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले माडीलाई मणि बनाउन गरेको उद्घोष अहिले सिद्ध भएको र अबबाट माडीको छुट्टै पहिचान बनेको जिकिर गरे । यस्तै, उनले अयोध्याधामलाई थप विकास गर्दै लगिने तर यसको संरक्षण र प्रवद्र्धनमा माडीवासीको विशेष भूमिका हुने बताए ।