दुर्गमका गर्भवतीलाई घरदैलोमै कोसेली


जुम्लाको तिला गाउँपालिकाले दुर्गमका गर्भवती महिलालाई घरदैलोमै कोसेली अभियान चलाएको छ ।



मातृशिशु सुरक्षाका लागि भन्दै पालिकाकी उपाध्यक्ष विष्णुमाया बुढा घरघरमा पुगेर गर्भवती महिलालाई कोसेली वितरणको अभियानमा जुटेकी छन् । उपाध्यक्ष बुढाले गर्भवती र सुत्केरी सुनौला हजार दिनभित्रका आमा  तथा बच्चाको पोषण अवस्थामा सुधार ल्याउन कोसेली बोकेर गाउँगाउँ पुग्न थालेकी हुन् ।




भौगोलिक हिसाबले जिल्लाकै दुर्गम पालिकाको रूपमा रहेको तिला गाउँपालिकाका करिब एक हजार बढी गर्भवती महिलालाई कोसेली बाँड्ने लक्ष्यका साथ गाउँगाउँमा पुगेको उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् । उनले भनिन्, “कोसेली झोलामा बच्चालाई न्यानो कपडा, तेल, साबुन, नङ्कटर र पोषणयुक्त आहारा चना राखिएको छ । तिलाका ९ वटै वडाका सुनौला हजार दिनभित्रका करिब १ हजार १ सय ७० जना आमालाई १ साताभरि कोसेली वितरण गर्ने लक्ष्य राखिएको छ ।”

दुर्गम गाउँका गर्भवती महिलालाई गाउँमै पुगेर पोषिला आहारा दिँदा राहत पनि हुने र पोषण स्थितिमा सुधार आई आमा बच्चा स्वस्थ्य र फूर्तिला हुने मनसायले घरदैलोमै कोसेली अभियान थालिएको उनको भनाइ छ ।

तिला गाउँपालिका–४ की गर्भवती महिला अञ्जली शाहीले घरदैलामै पुगेर कोसेलीसहित स्वास्थ्य सुरक्षाका बारेमा जानकारी पाउँदा खुसी लागेको बताइन् । त्यस्तै, सोही गाउँकी कालिका सुनारले भनिन्, “पहिलाका गर्भवती आमाले पोषिलो खानेकुरा नपाउँदा समस्या थियो । तर, अहिले स्थानीय सरकारले कोसेली उपलब्ध गराउने स्वास्थ्य जाँचबारे सिकाउने गरे पनि धेरै कुरा थाहा पाएका छौं ।”

गर्भवती महिलाले सागपात, अण्डा माछा मासु खानु हुदैन भन्ने परम्परागत सोचालाई अन्त्य गर्न कोसेली वितरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्थानीय महिला बताए ।



सम्बन्धित
Loading...