आज १५औँ लोकतन्त्र दिवस
आज १५औँ लोकतन्त्र दिवस । जनताले जितेको दिन ।
देशभरका सडकमा आज भन्दा १५ वर्षअघि गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् ।
नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नाम समेत २०६२/६३ को जनआन्दोलनलाई दिने गरिएको छ । वसन्त ऋतुमा जनताले जितेको भएर यसलाई प्रकृतिसँग जोडेर वसन्त क्रान्ति पनि भनिएको जानकारको टिप्पणी छ ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ ।
जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज १५औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।
सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दियो ।
शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिले नेपाली जनतामा एकप्रकारको विश्वास पैदा भएको थियो । जुन विश्वास जनविद्रोहमा परिणत भएको थियो ।
सत्ता र शक्तिका अगाडि कुनै परवाह नै नगरी नेपाली जनता परिवर्तनको पक्षमा एकाकार भएका थिए । त्यसलाई नेपालको राजनीतिक इतिहासमा १९ दिने ऐतिहासिक जनआन्दोलन वा दोस्रो जनआन्दोलनको रुपमा लिपिबद्ध गरिएको छ ।
नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभामार्फत जनताले आफ्नो संविधान आफैँ बनाए । संविधानसभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भयो ।
प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षको अन्तरघुलनको परिणाम स्वरूप नेपालका झण्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रुपमा रहन तयार भए।
नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अवलम्बन गरेका छन् । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।
राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याइएको छ ।
वसन्त क्रान्तिको दिशानिर्देशअनुसार नै सङ्घीय शासन प्रणाली आत्मसात् गरिएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाँउमै सिंहदरबारबाट पाउने सेवा तथा सुविधा पाएका छन् ।
नयाँ प्रणाली अवलम्बन गर्दा आएका असजिला र कमजोरीलाई क्रमशःसुधार गरेर लैजाने दिशामा सरकार लागिपरेको छ ।
लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १५औँ लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।