भारतमा एक दिनमा तीन लाख ५२ हजार जनामा कोरोना संक्रमण पुष्टि : दुुई हजार ८१२ जनाको मृत्यु
सिन्ह्वा : भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ ।

त्यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।
यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ । भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।
कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड १९ लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले बताए ।